विचार
नेपाली कांग्रेसमा चर्किएको महाधिवेशन सम्बन्धि विवादलाई केवल पार्टीभित्रको प्रक्रियागत अन्योलता वा गुटगत शक्ति संघर्षका रूपमा मात्रै हेर्नु अपूर्ण विश्लेषण हुन्छ । यो विवाद वास्तवमा नेपालको परम्परागत दल प्रणालीमा देखा परेको संकटको पटाक्षेप हो । उदाउँदै गएको नयाँ पुस्ताको राजनीतिक चेतनाबाट टाढिदै गएको नीति र नेतृत्वको उपादेयता सकिएको दृष्टान्त पनि हो । कांग्रेसभित्र देखिएको द्वन्द्व, अन्योल, निर्णयहीनता र शक्ति संघर्ष आज देशभर फैलिएको राजनीतिप्रतिको असन्तुष्टिसँग गहिरो रूपमा गाँसिएको छ । कांग्रेस भित्रको विवादलाई मैले कांग्रेस बाहिरबाट चिरफार गर्ने जमर्को गरेको छु ।
मूलतः कंग्रेसको महाधिवेशन ४ वर्ष भित्र गरिसक्नुपर्ने विधानमा उल्लेख छ । १४ औं महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएकोले नियमित महाधिवेशन ०८२ मंसिर भित्र गरिसक्नुपर्ने थियो । नेपाली कंग्रेसको विधानले केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोके पनि विशेष कारण देखाएर एक वर्ष थप लम्ब्याउन सक्छ । त्यो भनेको ०८३ मंसिर भित्र कंग्रेसले हरहालतमा महाधिवेशन गरिसक्नुपर्ने हुन्छ ।
हाम्रो संविधानको दलसम्बन्धि व्यवस्थामा पनि स्पष्ट रूपमा भनिएको छ कि कुनै पनि राजनैतिक दलले ५ वर्षभित्रै महाधिवेशन सम्पन्न गरेको हुनुपर्छ । यसमा पनि असाधारण परिस्थिति विद्यमान रहे थप ६ महिना ढिलाइ गर्नसक्ने सुविधा छ । यदि, यो समयसीमा भित्र महाधिवेशन गर्न नसक्दा कंग्रेसले कानुनी र राजनैतिक दुवै दृष्टिले वैधता गुमाउँछ । कंग्रेसभित्र देखिएको रस्साकस्सी त्यो गम्भीरता सहितको होइन, देखिँदैन ।
यसअघि महाधिवेशन कहिले गर्ने भन्ने विषयमा डेढ महिनासम्म छलफल चल्यो । यसअघि नै नियमित महाधिवेशन गर्ने भनेर तिथिमिति तोके पनि महाधिवेशन हुन सकेन । उक्त केन्द्रीय समितिको बहस र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा एउटा कठोर सत्य उजागर गरेको देखिन्छ । त्यो भनेको कांग्रेस जस्तो देशको ऐतिहासिक पार्टी अझै पनि समय, प्रक्रिया र नेतृत्वको उत्तराधिकार जस्ता आधारभूत प्रश्नमा स्पष्ट हुन सक्दैन भने अब त्यसले तमाम प्रश्नहरूको हल कसरी खोज्न सक्छ ?
बाहिर लोकतन्त्र, विधि र प्रणालीको चर्को वकालत गर्ने, तर, आफ्नै विधानअनुसार र कार्यकर्ताको माग अनुसारको महाधिवेशनलाई गुटगत स्वार्थ र शक्ति संघर्षको बन्दी बनाउने कुराले उसको आन्तरिक लोकतन्त्रमा गहिरो संकट पैदा भएको तथ्यलाई उजागर गर्दछ । यो संकट प्रकटरूपमा कंग्रेसको व्यवहारमा देखिन्छ । गुटबन्दीलाई तीब्र बनाउने, निर्णय टार्ने, अस्पष्ट राख्ने र ‘अनुकूल समय’ कुर्ने प्रवृत्ति आजका दिनमा पनि व्याप्त छ ।
कांग्रेसको समस्या केवल आन्तरिक एवम् संगठनात्मक मात्रै होइन, यो उसको राजनीतिक नैतिकताको संकट पनि हो । किनभने, कुनै पनि पार्टीले देशलाई निकास दिनु अघि आफ्नै आन्तरिक जीवनमा भरोसायोग्य लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई स्थापित गर्न सक्नुपर्छ । तर, कांग्रेसभित्र महाधिवेशनको विषय नेतृत्व जोगाउने कि नेतृत्व बदल्ने भन्ने भयसँग मात्रै गाँसिएपछि पार्टीभित्रको बहस विचार र नीतिभन्दा व्यक्तित्व र गुटमा सीमित हुँदै गएको छ । यसले कार्यकर्ता तहमा निराशा र अविश्वास जन्माएको छ । जुन दीर्घकालीन रूपमा संगठनका लागि पनि घातक हुने निश्चित छ । अब यही बिन्दुमा जेन–जी विद्रोहको पृष्ठभूमि जोडिन्छ !
आजको जेन–जी पुस्ता कुनै खालको सशस्त्र÷निशस्त्र विद्रोह, युद्ध, आन्दोलन वा भूमिगत संघर्षको चक्रबाट उदय भएको होइन, बेरोजगारी, असमानता, भ्रष्टाचार, अवसरहीनता र राजनीतिक दाउपेचको प्रत्यक्ष अनुभवबाट (राजनीतिक रूपमा) सचेत भएको पुस्ता हो । यो पुस्ताले भाषणभन्दा पनि परिणाम खोज्छ, नाराभन्दा जवाफदेहिता माग्छ । कांग्रेसजस्ता पुराना दलहरूभित्र देखिने असक्षम र अपारदर्शी सिद्ध नेतृत्व, ढिलासुस्ती, नेतृत्वमा देखिएको जडता, नयाँ पुस्ताप्रति असहिष्णु नेतृत्व, पुस्तान्तरण र हस्तान्तरणप्रतिको अनिच्छा, आन्तरिक लोकतन्त्र मृतप्रायः जस्ता कारणले उनीहरूप्रतिको आकर्षण शून्यमा झर्दै गएको छ ।
यी सबै कुराले २२ औं शताब्दीको चेतना र प्रविधिसँगसँगै हुर्केको जेन–जी पुस्ताको उन्नत बुझाइमा ‘पुरानो पार्टी प्रणालीको सान्दर्भिकता सकिएको पुष्टि गर्दछ ।
त्यसैकारण कांग्रेसको महाधिवेशन विवाद केवल पार्टीभित्र सीमित छैन । यसले समग्र देश र आम नागरिकसँग कुनै न कुनै हिसाबको साइनो–सम्बन्ध राख्दछ । जेन–जी पुस्ता अब स्पष्ट हुनुपर्छ कि यदि देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीले आफ्नै विधान र प्रक्रियामा काम गर्न, विश्वास गर्न सक्दैन भने, त्यसले हाम्रो समग्र भविष्य कसरी ग्यारेन्टी गर्नसक्छ ? बिल्कुल सक्दैन !
यही प्रश्नबाट नयाँ पुस्तामा परम्परागत राजनीति संरचनाप्रतिको विद्रोही मनोविज्ञान जन्मिएको हो । जेन–जी पुस्ता मात्रै होइन, आम नागरिक कांग्रेस फुट्छ कि फुट्दैन भन्ने बहसभन्दा धेरै अगाडि बढिसकेका छन् । राष्ट्रका लागि, नागरिकका लागि खतरा या जोखिम भनेको कांग्रेस विभाजन होइन, उसको अप्रासंगिकता र असान्दर्भिकता हो !
पार्टी फुटे पनि, नफुटे पनि, यदि कांग्रेस अनिर्णित, आत्मकेन्द्रित र परिवर्तनविरोधी देखिरह्यो भने जेन–जीका लागि मात्रै होइन, समग्र देशकै लागि कांग्रेस केवल समस्या मात्रै बनिरहन्छ । स्वाभाविक रूपमा नयाँ पुस्ताको रोजाइ र विकल्पबाट उ बाहिर रहन्छ । पछिल्ला राजनैतिक घटनाक्रमले पनि त्यसको स्पष्ट संकेत दिएका छन् ।
मेरो विचारमा महाधिवेशनसँग सम्बन्धित विवादकै कारणले कांग्रेस विभाजनको औपचारिक जोखिम अहिले कम देखिए पनि, राजनीतिक प्रभाव र जनाधार क्षयको जोखिम तीब्र बनेको छ । यो क्षय मौन हुन्छ ! न नाराबाजी हुन्छ, न विद्रोहको घोषणा नै ! तर, कंग्रेसको विघटन सघन बन्दै जानेछ, मतदाताले बिस्तारै कांग्रेसबाट ध्यान हटाउनेछन् । र, नयाँ तथा वैकल्पिक शक्ति एवम् स्वतन्त्र नयाँ अनुहार वा गैर–परम्परागत विकल्पतर्फ आकर्षित हुन्छन् । यसको संकेत देशैभर खानेपानी उपभोक्ता समितिदेखि टोलसुधार समितिसम्म मिलिसकेको छ ।
कंग्रेस विवादको सबैभन्दा ठूलो जोखिम आसन्न निर्वाचन पर्ने निश्चित छ । कार्यकर्ताको भरोसा गुमाउँदै निरीह देखिएको र अभूतपूर्व आन्तरिक विवादमा फसेको कांग्रेसले यथास्थितिमा निर्वाचनमा जाँदा स्पष्ट दृष्टिकोण, कार्यक्रम र त्यसलाई कार्यनयन गर्नसक्ने आत्मविश्वासी, सक्षम र आकर्षक नेतृत्व दिन सक्दैन । अर्कोतर्फ, यस्तो अवस्थामा हुने निर्वाचनमा नेतृत्व, कार्यक्रम, विचार र दिशाको प्रतिस्पर्धा नभएर, फेरि पनि गठबन्धनको संस्कृति सुरु हुन्छ । त्यसले ‘कमजोर विकल्प छान्ने’ खेलमा निर्वाचनलाई सीमित राख्ने खतरा बढ्छ । यसले लोकतन्त्रलाई सुदृढ बनाउने भन्दा पनि, थप कमजोर बनाउने निश्चित छ ।
अन्ततः त्यही यक्ष प्रश्न आएर ठोक्किन्छ कि आफ्नै आन्तरिक जीवनमा रूपान्तरण ल्याउन नसक्ने कांग्रेसले सिङ्गो देशलाई निकास दिन्छ भनेर पत्याउने आधार चाहीँ के हो ? कंग्रेसजनलाई म बहसका लागि आमन्त्रण गर्दछु ।
एउटा सकारात्मक पक्ष के छ भने आजको सन्दर्भमा कंग्रेसभित्र नीति र नेतृत्वमा स्पष्टता नहुँदा पनि बाहिर विकल्पहीनताको स्थिति रहँदैन । जेन–जी विद्रोहको पटाक्षेप यही विकल्पहीनतालाई चिर्नका लागि भएको हो । परिवर्तनको उत्कट आकांक्षाले अब थप धैर्यता कायम राख्न सक्दैन । कम्तीमा पनि यति भन्न सकिन्छ कि कांग्रेसका कारण सिङ्गो देश र लोकतन्त्र नै बन्दी बन्ने जोखिम टरेर गएको छ । उक्त आकांक्षा अब ब्यालेट मार्फत पटाक्षेप हुन खोजिरहेको छ । नयाँ पुस्ता अब परिवर्तनको प्रतीक्षामा होइन, परिवर्तनको खोजीमा निस्किसकेका छन् ।
यस अर्थमा, कांग्रेसको महाधिवेशनसँग सम्बन्धित विवादले केवल आन्तरिक वा संगठनात्मक संकटलाई संकेत मात्रै गर्दैन । यो विवाद पुरानो राजनीति र नयाँ पुस्ताको अपेक्षाबीचको निर्णायक टकराव पनि हो ! यो परीक्षामा खरो उत्रिन सके कंग्रेस राष्ट्रिय राजनीतिको पुनः केन्द्रीय शक्तिमा फर्किनु सक्छ । नसके, इतिहासको सम्मानित अध्याय त बाँकी रहला, तर, सुशासन सहितको समृद्धितर्फ भविष्यको नेतृत्व भने नयाँ तथा वैकल्पिक शक्तिहरूले नै गर्नेछन् ।