बुटवल : फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनले लुम्बिनी प्रदेशका जिल्लाहरुमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । यो प्रदेशमा केन्द्रीय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने र पटकपटक प्रधानमन्त्रीदेखि विभिन्न मन्त्री भइसकेका नेतादेखि भर्खरै राजनीतिमा छिरेकाहरु चुनावी प्रतिस्पर्धामा छन् ।
अधिकांश जिल्लामा पुरानै पार्टीको जनाधार भएका पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुबीचमै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो चरणको पालिकास्तरका चुनावी कार्यक्रम सकेर धेरैजसो उम्मेदवारहरु वडातह र घरदैलोमा पुगेर मतदातासंग मत माग्न व्यस्त भएका छन् । मतदाताहरुको घरमा हुने पूँजाआजा लगायतका जमघट हुने ठाउँमा पुगेर उनीहरुले आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

लुम्बिनीको प्रमुख चासोको रुपमा हेरिएको रुपन्देही निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । यस क्षेत्रबाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल सहित ३९ जना प्रतिस्पर्धामा छन् ।
०७९ कै निर्वाचनमा चुनाव जित्न हम्मेहम्मे परेका एमाले नेता पौडेलको विगतको विरासत ढाल्ने गरी नयाँ उम्मेदवारहरु चुनावी मैदानमा छन् । तर, आफ्नो विरासतलाई कायमै राख्नेगरी पौडेल र एमाले पंक्ति लागेका छन् । एमालेका पौडेल सहित नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र रास्वपाका सुलभ खरेलबीच यहाँ तिव्र चुनावी प्रतिस्पर्धा छ ।

पुराना दलका नेताहरुलाई मतदाताले मत माग्न पुग्दा स्वदेशमै रोजगारीको ग्यारेन्टी सहितको बाचा गर्न आग्रह गरेका छन् । विकासका आधारभूत आवश्यकताको नागरिकहरुले अनूभुति गरिसकेकाले अबको प्रमुख एजेण्डा गाउँघरमै युवाहरुलाई रोजगारी दिने ग्यारेण्टी गरिदिन् मतदाताहरुको प्रमुख माग छ ।
गुल्मी निर्वाचन क्षेत्र नम्वर २ का एमाले नेता गोकर्णराज विष्टले समयको भरपूर्ण सदुपयोग गरेका छन् । उनले विगतमा आफ्नो अगुवाईमा भएका विकास निर्माणका कामलाई देखाएर मत माग्न घरदैलोमा पुगेका छन् । विष्टको अगुवाईमा यस निर्वाचन क्षेत्रमा सडक, विद्युत्तदेखि खानेपानीसम्मका थुप्रै योजनाहरु संचालन भएका छन् । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र रास्वपाका गोविन्द पन्थी मुख्य प्रतिस्पर्धामा छन् । श्रेष्ठ र पन्थीले पनि मतदाताहरुको घरदैलोमा पुगेर मत माग्ने कार्यक्रमलाई तिव्र बनाइरहेका छन् ।

लुम्बिनीका १२ जिल्लामध्ये ६÷६ जिल्ला पहाडी र तराईका भूगोलका छन् । लुम्बिनीकै एकमात्र हिमाली जिल्ला पूर्वीरुकुममा पर्छ । जहाँबाट पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल चुनावी प्रतिस्पर्धामा छन् । प्रचण्डले मतदाताहरुको घरदैलोमा पुगेर सुन्तला खानेदेखि घरमै बसेर खानाखाने सम्मका कार्यक्रम गरेर मत मागिरहेका छन् । मतदाताहरुसंग विहान मर्निङवाकमा समेत प्रचण्ड निस्कने गरेका छन् ।
गुल्मी, प्यूठान, पाल्पा, रोल्पा, पूर्वीरुकुम र अर्घाखाँची लुम्बिनीका पहाडी जिल्ला हुन् । रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दाङ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तराईका जिल्ला हुन् । पहाडी जिल्लाका मतदाताहलाई तराईको तुलनामा मतदाताको घरदैलोमा पुग्न धेरै कठिन छ । नमिलेका भूगोलहरु छिचोल्दै घरदैलोमा जान समस्या हुनेगरेको उम्मेदवारहरुले नै प्रतिक्रिया दिएका छन् ।
प्यूठानका एमालेका उम्मेदवार सूर्य थापाले पहिलो चरणको पालिकास्तरका कार्यक्रम सकेर शनिवारदेखि वडातहका कार्यक्रम थालेका छन् । सरुमारानी गाउँपालिका वडा नम्वर ४ बडडाँडाबाट उनको दोस्रो चरणको चुनावी भेटघाट कार्यक्रम शुरु भएको छ ।

राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्नसक्ने नेताको रुपमा चिनिएका थापाले दोस्रोपटक पनि जित हाता पार्ने विश्वास सुनाएका छन् । उनीसंगको प्रतिस्पर्धामा नेपाली कांग्रेसका डा.गोविन्दराज पोख्रेल छन् । विकास निर्माणमा आफ्नो लामो अनुभव भएकाले मत दिन कांग्रेसका पोख्रेलले आग्रह गरेका छन् भने आफ्नै अगुवाईमा भएका विकास निर्माणका अँधुरा कामहरु पुरा गर्न बाँकी भएकाले पूनःएकपटक जिताउन थापाले मत मागिरहेका छन् । थापा र पोख्रेलको प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का, राजमोका तिलक बहादुर जिसी र रास्वपाका सुशान्त वैदिक प्रतिस्पर्धामा छन् । ०७९ को निर्वाचनमा पाँचदलीय गठवन्धनलाई पछिपार्दै थापा विजयी भएका थिए ।

पहिलो चरणमा गाउँघरको चुनावी भेटघाट कार्यक्रम सकेर गुल्मी निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा.चन्द्र भण्डारी यतिबेला शहरका मतदाता भेट्न व्यस्त छन् । गुल्मीका अधिकांश मतदाताहरु बुटवलमा बसोवास गर्छन् । यहाँको प्रमुख बजार समेत बुटवल हो । दुवै उम्मेदवार बुटवल र काठमाण्डौंका मतदाताहरुसंग भेटघाट गर्दै चुनावी भेटघाट कार्यक्रमलाई तिव्र बनाइरहेका छन् । उनीहरुसंगको प्रतिस्पर्धामा रास्वपाका सागर ढकाल छन् ।
लुम्बिनीमा प्रतिनिधीसभाका लागि २६ निर्वाचन क्षेत्र छन् । कुल मतदाता ३३ लाख ८६ हजार ६ सय ८० छन् । त्यसमध्ये पुरुष १७ लाख १५ हजार १ सय ६३, महिला १६ लाख ७१ हजार ४ सय ७९ र अन्य ३८ जना छन् । यहाँ कुल मतदान स्थल १ हजार ६ सय ७१ र मतदान केन्द्र ३ हजार ९ सय ९८ वटा रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । हाइप्रोफाइलदेखि नयाँ युवा पुस्ताहरु चुनावी मैदानमा भएकाले लुम्बिनीको चुनावी रौनक तातेको छ ।