प्यूठान : पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप झिमरुक गाउँपालिकाका छात्राहरुलाई पनि लगाउने कार्यक्रम शुरु भएको छ । आइतवारदेखि शुरु भएको खोप कार्यक्रम माघ २९ गतेसम्म चल्ने छ । गाउँपालिकाभरी कुल २० वटा विद्यालयका २ सय ७९ जना छात्राहरुलाई खोप लगाउने कार्यक्रम रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख बिकाश केसीले जानकारी दिए ।
उनका अनुसार कक्षा ६ का विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम छ । अघिल्लो वर्षदेखि शुरु भएको यो अभियान शुरुवाती वर्षमा ६ देखि कक्षा १० का छात्राहरुलाई लगाइएको थियो । तर, चालु आवदेखि नेपाल सरकारले ६ कक्षादेखिका छात्राहरुलाई नियमित खोपको रुपमा यो अभियानलाई अघि सारेको छ । खोप कार्यक्रम संचालन गर्नका लागि संघीय सरकारले शसर्त अनुसार डेढ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नेपालमा हरेक दिन औषतमा ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको र चार जनाको ज्यान जाने गरेको सरकारी तथ्यांक छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा छ ।