प्यूठान : कलात्मक र आकर्षक रुपमा निर्माण गरिएको गौमुखी गाउँपालिका प्यूठानको प्रशासनिक भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बुधवार एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरेका हुन् ।
कुल ६ करोड २३ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवन संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा बनेको हो । निर्माण कम्पनी मल्लरानी कन्स्ट्रक्सनले सम्झौता अवधिभन्दा १ सय ६ दिन अगावै भवन निर्माण कार्य सम्पन्न गरेको हो ।
उद्घाटन समारोहमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने गौमुखी – ४ का स्वर्गीय जोगेन्द्र मल्लको परिवारलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ। साथै निर्माण व्यवसायी बालाजु श्रेष्ठलाई पनि कदरपत्र सहित सम्मान गरिएको छ । भवन निर्माण भएसंगै प्रशासनिक सेवा प्रवाहमा थप सहजता र प्रभावकारिता आउने गाउँपालिका उपाध्यक्ष महावीर रानाले विश्वास व्यक्त गरे । उक्त भवनको शिलान्यास २०८१ साल साउन १९ गते गाउँपालिका अध्यक्ष गिरीले गरेका थिए।