गुल्मी -१
गुल्मीको राजनीतिक इतिहासमा केही यस्ता अध्याय छन्, जसले यो जिल्लालाई केवल भौगोलिक सीमाभित्र सीमित राखेनन्, बरु राष्ट्रिय राजनीतिक बहसको केन्द्रसम्म पु¥याए । गुल्मी–१ को सन्दर्भमा आज फेरि त्यस्तै मोड आएको छ, जहाँ चुनाव केवल मतगणनाको खेल होइन, अनुभव र प्रयोगबीचको छनोट बनेको छ । यही सन्दर्भमा दुई नाम स्पष्ट रूपमा अगाडि देखिन्छन्, नेकपा (एमाले) का प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा.चन्द्र भण्डारी ।
यी दुई नेता केवल उम्मेदवार होइनन्, गुल्मीको राजनीतिक संस्कारका प्रतिनिधि हुन् । विकासमा गुल्मीका पर्याबाची हुन् । राष्ट्रिय स्तरमा परिचित, विकासप्रेमी, शालीन र तुलनात्मक रूपमा विवादरहित छविका कारण उनीहरूले आफ्नो पहिचान बलियो बनाएका छन् । राजनीति जहाँ आरोप–प्रत्यारोप, द्वेष र व्यक्तिगत आक्रमणले भरिएको देखिन्छ, त्यहीँ गुल्मीले प्रदीप र चन्द्रमार्फत स्वच्छ प्रतिस्पर्धाको उदाहरण प्रस्तुत गरेको छ । जसले गर्दा गुल्मेलीको शिर रेसुङाको शिर भन्दा पनि ठाडो भएको छ ।
यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा, यी दुईबीचको आत्मीय सम्बन्ध पनि हो । चुनावी मैदानमा प्रतिस्पर्धी भएपनि व्यक्तिगत सम्बन्धमा सदैव सम्मान, संवाद र सहकार्य देखिएको छ । विगतका चुनावी परिणामहरूलाई सहर्ष स्वीकार गर्दै बधाई साटासाट गर्ने संस्कारले गुल्मीको राजनीतिक परिपक्वता प्रमाणित गरेको छ। जित्नेले हार्नेलाई अपमान नगर्ने, हार्नेले जित्नेलाई अस्वीकार नगर्ने—यस्तो संस्कार आजको राजनीतिमा दुर्लभ छ ।
गुल्मीका जनताले पनि यही संस्कार आत्मसात गरेका छन् । यहाँ चुनाव परिणामपछि उत्सव हुन्छ, तर आरोप प्रत्यारोप हुँदैन् । त्यसैले भनिन्छ—“जसले जिते पनि जनता खुसी हुन्छन्, जसले हारे पनि जनता दुखी हुन्छन् ।” किनकी दुवै उम्मेदवारलाई जनताले आफ्नो मान्छे ठानेका छन् । दुवैको हार गुल्मीको क्षति जस्तै लाग्छ ।

तर लोकतन्त्रमा सधैं एउटा प्रश्न उठ्छ, नयाँ पुस्तालाई अवसर दिनु पर्दैन? परिवर्तन आवश्यक छैन? अवश्य पनि नयाँ नेतृत्व लोकतन्त्रको ऊर्जा हो। तर प्रश्न यति मात्र हो—के अहिलेको समय प्रयोगको हो, कि अनुभवको ? अबसर को हो कि पहिचान को ? गुल्मी जस्तो जिल्लामा, जहाँ विकासका कामहरू निरन्तरता छन्, त्यहाँ स्थिरता र निरन्तरता अझै महत्वपूर्ण हुन्छ ।
प्रदीप र चन्द्रले विगतमा गरेका कामहरू हेर्दा यो स्पष्ट हुन्छ कि उनीहरूले केवल भाषण होइन, व्यवहारमा विकासलाई प्राथमिकता दिएका छन् । सडक सञ्जाल विस्तार, कालोपत्रे योजना, पुल निर्माण, स्वास्थ्य चौकी स्तरोन्नति, विद्यालय भवन निर्माण, खानेपानी आयोजना, विद्युत्त विस्तार, कृषि आधुनिकीकरण—यी सबै क्षेत्रमा पहल भएको छ । यी कामहरू एकै दिनमा सम्भव हुँदैनन; त्यसका लागि केन्द्रसँग समन्वय, बजेट व्यवस्थापन र दीर्घकालीन दृष्टि आवश्यक हुन्छ ।
गुल्मीको पहिचान आज राष्ट्रिय स्तरमा बलियो छ भने त्यसमा नेतृत्वको भूमिका अनिवार्य छ । संसदमा जिल्लाको आवाज बुलन्द पार्ने, बजेटमा प्राथमिकता सुनिश्चित गर्ने र प्रशासनिक संरचनामा जिल्लाको हित सुरक्षित गर्ने काम सजिलो छैन। अनुभव र पहुँच बिना त्यो सम्भव हुँदैन । प्रदीप र चन्द्र दुवैले यही अनुभव र पहुँच निर्माण गरेका छन् ।
यही कारण गुल्मेलीको चाहना प्रस्ट सुनिन्छ—“कि प्रदीप, कि चन्द्र ।” जनताको प्राथमिकता व्यक्तिभन्दा बढी काममा आधारित छ । उनीहरूले हेरेका छन, कसले कति काम ग¥यो ? कसले कति सक्रियता देखायो ? कसले विवादभन्दा कामलाई प्राथमिकता दियो ? राजनीति केवल नारामा सीमित हुँदा जिल्लाको विकास रोकिन्छ । तर यहाँ दुवै नेताले कामलाई केन्द्रमा राखेका छन् ।
चुनावको मैदानमा नयाँ अनुहार देखिनु अस्वाभाविक होइन । लोकतन्त्र खुला छ, जो कोही उम्मेदवार बन्न सक्छ । तर मतदाताको जिम्मेवारी हो—कसलाई जिम्मा दिने ? पाँच वर्षको समय प्रयोगशाला होइन, जिम्मेवारीको अवधि हो। यदि नेतृत्वमा अनुभव, राष्ट्रिय छवि र विकासप्रति प्रतिबद्धता पहिल्यै प्रमाणित छ भने त्यसलाई निरन्तरता दिनु बुद्धिमानी हुन सक्छ ।
तसर्थ गुल्मी–१ को चुनावी मेनुमा आज मुख्यतः दुई नाम छन्, प्रदीप र चन्द्र । जनताको नजरमा दुवै विकासका पर्याय जस्तै बनेका छन् । दुवैको लक्ष्य एउटै छ, गुल्मीलाई समृद्ध बनाउने । प्रतिस्पर्धा छ, तर गन्तव्य एउटै छ । यस्तो अवस्थामा विभाजनको राजनीति भन्दा निरन्तरताको राजनीति बलियो देखिन्छ ।
विगतमा देखिएको स्वच्छ प्रतिस्पर्धाले गुल्मीको राजनीतिक संस्कारलाई उचाइ दिएको छ । परिणाम स्वीकार गर्ने उदारता र परिपक्वता लोकतन्त्रको सुन्दर पक्ष हो। यदि यही परम्परा कायम राख्ने हो भने अनुभव र जिम्मेवारी बोकेका नेतृत्वलाई पुनः विश्वास गर्नु स्वाभाविक देखिन्छ ।
आज जब नयाँको बहस उठ्छ, त्यसलाई नकार्नुपर्ने होइन् । तर नयाँ नेतृत्व तयार पार्ने काम पनि अनुभव सम्पन्न नेतृत्वकै संरक्षणमा सम्भव हुन्छ। अनुभवी नेतृत्वले मार्गदर्शन गर्छ, संरचना बनाउँछ र भविष्यका पुस्तालाई अवसर सिर्जना गर्छ। त्यसैले अहिलेको प्राथमिकता विकासको निरन्तरता हो भने चन्द्र र प्रदीप जस्ता अनुभवी नेतृत्वको आवश्यकता अझै रहन्छ ।
त्यसैले, आजको चुनावी बहसमा नयाँ प्रयोगभन्दा प्रमाणित नेतृत्वलाई निरन्तरता दिनु बुद्धिमानी निर्णय हुन सक्छ । गुल्मीको भविष्य भावनामा होइन, विवेकमा आधारित निर्णयले तय हुनेछ । र यदि विकास, स्थिरता र स्वच्छ राजनीतिक संस्कार जोगाउने हो भने गुल्मी–१ मा फेरि प्रदीप वा चन्द्रमध्ये एकलाई नै जनताको भरोसा दिनु उपयुक्त देखिन्छ ।
गुल्मीको माटो स्वाभिमानी छ । यहाँका जनताले भावनाभन्दा बढी काम हेर्छन्। उनीहरूलाई भाषणभन्दा परिणाम चाहिन्छ । प्रदीप र चन्द्र दुवैले आफ्नो कार्यकालमा परिणाम देखाउने प्रयास गरेका छन् । विवादभन्दा विकासमा केन्द्रित रहनु नै उनीहरूको सबल पक्ष हो ।
अन्ततः गुल्मी–१ को चुनाव केवल उम्मेदवार चयन होइन, दिशा चयन हो। निरन्तरता कि प्रयोग? अनुभव कि अनिश्चितता? जनताले सोच्नुपर्छ—गुल्मीको विकासलाई गति दिने, राष्ट्रिय स्तरमा जिल्लाको छवि उँचो राख्ने र स्वच्छ राजनीतिक संस्कार जोगाइराख्ने नेतृत्व कसले दिन सक्छ ?
यस प्रश्नको उत्तर खोज्दा फेरि उही दुई नाम अगाडि आउँछन् प्रदीप र चन्द्र । जसलाई रोजे पनि लक्ष्य एउटै छ, तर सन्देश स्पष्ट हुनुपर्छ । गुल्मीको विकासलाई अधुरो छोड्ने होइन, अझ अगाडि बढाउने । त्यसका लागि परिपक्व, अनुभवी र विवादरहित नेतृत्व आवश्यक छ ।
त्यसैले, आजको चुनावी बहसमा नयाँ प्रयोगभन्दा प्रमाणित नेतृत्वलाई निरन्तरता दिनु बुद्धिमानी निर्णय हुन सक्छ । गुल्मीको भविष्य भावनामा होइन, विवेकमा आधारित निर्णयले तय हुनेछ । र यदि विकास, स्थिरता र स्वच्छ राजनीतिक संस्कार जोगाउने हो भने गुल्मी–१ मा फेरि प्रदीप वा चन्द्रमध्ये एकलाई नै जनताको भरोसा दिनु उपयुक्त देखिन्छ ।