प्यूठान : नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रकी एक गर्भवती महिलाको निःशुल्क हवाई उद्धार गरी प्यूठान अस्पतालबाट थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
रोल्पा, लुंगी गाउँपालिका वडा नं. १ निवासी १८ वर्षीया यमुना बस्नेतको ज्यान जोखिममा परेपछि प्यूठान अस्पतालमा प्रारम्भिक उपचारपश्चात् हवाई उद्धार गरी प्रदेश अस्पताल, सुर्खेत पठाइएको हो ।
प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवास पौडेलका अनुसार मंगलवार बिहान करिब ९ बजे अस्पताल ल्याइएकी बस्नेतको अवस्था गम्भीर थियो । “उहाँ बिहोसी अवस्थामा हुनुहुन्थ्यो, रक्तचाप अत्यधिक थियो र शरीरमा कम्पन देखिएको थियो,” उनले भने ।
अस्पतालमा गरिएको भिडियो एक्सरे जाँचबाट गर्भमा रहेको शिशुको मृत्यु भइसकेको पुष्टि भएको थियो। बस्नेत पहिलो पटक गर्भवती थिइन् र उनको गर्भ ३५ हप्ता ६ दिन पुगेको थियो।
अस्पतालले करिब ३ घण्टाभित्र प्रारम्भिक उपचार गरी थप जटिलता हुन सक्ने जोखिमका कारण तत्काल हवाई उद्धारमार्फत सुर्खेत पठाएको जनाएको छ। “बिरामीलाई तत्काल शल्यक्रिया गरी आइसियुमा राख्नुपर्ने अवस्था आउन सक्थ्यो। तर, हाम्रो अस्पतालमा आइसियु तथा भेन्टिलेटरको सुविधा नभएकाले जोखिम लिन सकेनौं,” डा. पौडेलले बताए ।
उनका अनुसार सुर्खेत पुगेपछि बस्नेतको सफल शल्यक्रिया गरिएको छ र हाल उनको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ । सरकारको उक्त कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिँदै आएको छ ।