- आर्थिक दुरुपयोग हुन नदिन र पारदर्शिता ल्याउने विश्वास
बाग्लुङ : जिल्ला प्रशासन कार्यालय बाग्लुङभित्रै बैंकिङ सुविधा संचालन भएको छ । बुधवारदेखि कार्यालयले सेवाग्राहीलाई मध्यनजर गर्दै राजश्व र धरौटी बैंकिङ प्रणालीबाट गर्ने उद्देश्यले सेवा संचालनमा ल्याएको हो । यसअघि कार्यालयले नेपाल बैंक लिमिटेडबाट बुझाउदै आइरहेको राजश्व र धरौटी कार्यालय परिसरभित्रै संचालन भएको प्रभु बैंकबाट बुझाउन सकिने छ । बैंकले कार्यालयभित्र काउण्टर संचालन गरेको छ ।

कार्यालयभित्र प्रवेश गरेका सेवाग्राहीहरुले अवदेखि तोकिएको राजश्व आफैँ बैंकमा बुझाउन सक्नेछन् । यसअघि राजश्व र धरौटीको रकम सेवाग्राहीले कार्यालयमै बुझाउदै आएका थिए । संकलित रकमलाई कार्यालयले नेपाल बैंक मार्फत जम्मा गर्दै आइरहेको थियो । राहदानीको राजश्वर, मुद्दामा लिइने धरौटी, संस्था दर्ता, नवीकरण तथा हातहतियार नवीकरण गर्दा राजश्व र धरौटी बैंक दाखिला गर्नुपर्ने हुन्छ ।
गृह मन्त्रालयले कार्यालयमा संकलन हुने राजश्व र धरौटी बैंकिङ प्रणालीबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिए अनुसार सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले जानकारी गराए । बैंकसँगको सहकार्यमा बुधवारदेखि औपचारिक सेवा थालिएको उनको भनाई छ । आर्थिक दुरुपयोग हुन नदिन र पारदर्शिता ल्याउन उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको उनको विश्वास छ । काउण्टरले कार्यालयमा आएका अन्य सेवाग्राहीलाई समेत सेवा दिनेछ । काउण्टरमा बैंकका दुई जना कर्मचारी खटिएका छन् ।