काठमाडौं : प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा भएको छ। प्रदेशसभामा आइतबार बिहान भएको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए। सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेपछि दुई तिहाइभन्दा धेरै मतका प्रस्ताव पास गरेको हो।
यसअघि ३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेलकायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको छ। साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेलका पक्षमा मतदान गरेका हुन्। काभ्रेको विपक्षमा १०१ मत परेको थियो। प्रदेशसभामा ११० सांसद रहेका छन्।
प्रदेशको स्थायी राजधानीका लागि शनिबार २ वटा नाम प्रदेशसभामा दर्ता भएको थियो। प्रदेशसभामा नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, कांग्रेस प्रदेश ३ का नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक रहेर ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बनाइयोस् भन्दै प्रस्ताव दर्ता भएको हो।
त्यस्तै, विवेकशील साझा पार्टीका रमेश पौडेल प्रस्तावक, शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेर काभ्रेको धुलिखेल राजधानी बनाइयोस् भन्दै प्रस्ताव दर्ता गराएका छन्।
यसअघि नेकपाभित्रको रस्साकस्सी र असहमतिका कारण दुई वर्षदेखि प्रदेशको राजधानी र नाम टुंगो लाग्न सकेको थिएन। प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र १ स्वतन्त्र सांसद छन्।
प्रदेशको स्थायी राजधानी काभ्रे हुनुपर्ने भन्दै ३१ जना नेकपाका प्रदेशसभा सदस्यले संसदीय दलमा हस्ताक्षरसहित फरक मत दर्ता गराएका थिए। उनीहरूको फरकमतमा पार्टीले केन्द्रीयता लादेको, व्यावहारिक र वैज्ञानिक निर्णय नगरेको र काभ्रे नै स्थायी राजधानीका लागि उपयुक्त रहेको दाबी गरेका थिए।
प्रदेशको नाम बागमती
प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको छ। बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन्। स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रदेश ३ को राजधानी मकवानपुर, काभ्रे, भक्तपुर, चितवन र नुवाकोट उपयुक्त रहेको सिफारिस गरेको थियो।