रुकुम (पूर्व) : रुकुम पूर्वमा सडक पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । यसअघि साविकको पूर्वाधार विकास कार्यालय प्यूठान मार्फत संचालन भएका योजनाहरु अवदेखि रुकुमबाटै संचालनमा हुनेछन् । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्ने गरी आफ्नै जिल्लामा कार्यालय स्थापना भएपछि जिल्लाबासी उत्साहित भएका छन् ।

कार्यालयले सडक र पक्की पूल निर्माणको क्षेत्रमा काम गर्ने कार्यालय प्रमुख इञ्जिनियर विरेन्द्र कँडेलले जानकारी गराए । ‘२०७६ असोज १३ गते प्रदेश मन्त्रिपरिष्दको निर्णयले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो’,कँडेलले भने,‘सोही बमोजिम कार्यालय स्थापना गरेर काम थालेका छौँ ।’ उनले प्यूठानदेखि संचालन भएका करिव १७ वटा योजनाहरु यस जिल्लाबाट कार्यान्वयन हुने जानकारी गराए । साविक पूर्वाधार विकास कार्यालय प्यूठान मार्फत योजनाहरु हस्तान्तरण हुने प्रक्रियामा रहेको समेत कँडेलले बताए ।
रोल्पा सहित तीन जिल्ला हेर्ने गरी प्यूठान मार्फत पूर्वाधार विकास कार्यालय स्थापना भएको थियो । प्यूठान र रोल्पा हेर्नेगरी रोल्पामा कार्यालय स्थापना हुने भएको छ । सम्वन्धित जिल्लामै कार्यालय स्थापना भएपछि कार्यसम्पादनमा सहजता आउने कँडेलले अपेक्षा गरेका छन् । तर कँडेलले नयाँ कार्यालय स्थापनासँगै चुनौती पनि थपिएको उल्लेख गरे ।
कार्यालयको आफ्नै भवन, सवारीसाधन र दरवन्दी अनुसार कर्मचारी नहुँदा शुरुवाती वर्षमा कार्यसम्पादन गर्न कठिनाई हुने देखिएको समेत जानकारी गराए । १३ जनाको दरवन्दी रहेको कार्यालयमा हाल तीन जना मात्र कर्मचारी कार्यरत छन् । यस बारेमा प्रदेश मन्त्रालयले विशेष ख्याल गर्न समेत उनले आग्रह गरे । साविक रुकुम टुक्रिएर बनेको रुकुम (पूर्व) प्रदेश नम्वर ५ कै सानो जिल्लाको रुपमा रहेको छ । पुथा उत्तरगंगा, भूमे र सिस्ने गरी यहाँ तीन वटा मात्र गाउँपालिका छन् ।