- फागुन ८–१८ मा स्वर्गद्धारी प्यूठान चौथो महोत्सव

प्यूठान : स्वर्गद्धारी प्यूठान चौथो महोत्सवबाट हुने आम्दानीले प्यूठान उद्योग वाणिज्य संघको वाणिज्य सभाहल निर्माण गरिने भएको छ । उपयूक्त स्थानको छनौट गरि हालको तुलनामा सुविधा सम्पन्न उद्योग वाणिज्य सभाहल बनाईने अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक केदारमान कक्षपतीले बताए । ‘सवैतिरका व्यवसायीहरुलाई पायक पर्ने गरि बृहत वाणिज्य सभाहल बनाउछौँ’, कक्षपतीले भने,‘महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण योगदान पु¥याउने छ ।’ एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र आठ करोड रुपैयाँ बराबरको आर्थिक कारोवार हुने लक्ष्य लिइएको उनले जानकारी गराए ।

२०७६ फागुन ८ देखि १८ गतेसम्म झिमरुक नदि किनार गणतान्त्रिक खेलकुद मैदानमा महोत्सव संचालन हुँदैछ । ‘उद्योग व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौँ’ भन्ने नारा सहित संचालन हुन लागेको महोत्सवले समग्र प्यूठानको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।
महोत्सवमा स्थानीय उत्पादन, राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका उत्पादनको प्रदर्शनी तथा बजारीकरण गरिने संघका महासचिव कृष्णभक्त गिरीले बताए । उनका अनुसार प्रदेस ५ का मुख्य पर्यटकीय स्थलहरुको समेत प्रचारप्रसार गरिने छ । रमाईलो मेला, बाल उद्यान, स्थानीय प्रतिभाको प्रस्तुती र राष्ट्रिय कलाकारहरुको प्रस्तुती महोत्सव अवधिभर हुनेछ ।
संघका अध्यक्ष कक्षपतीको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । संघका पदाधिकारीहरु बुटवल तथा काठमाण्डौँका व्यवसायी, विभिन्न संघसंस्था तथा विभिन्न कम्पनीहरुलाई भेट्दै महोत्सवको प्रचार–प्रसारमा जुटेको संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी गराए । सहयोगदाता, विज्ञापन र प्रायोजकको खोजीमा अध्यक्ष नेतृत्वको टोली खटेको उनको भनाई छ । महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।