
प्यूठान : नयाँ वर्ष २०७७ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वैशाख १, २ र ३ गते ‘मल्लरानी प्रथम पर्यटन महोत्सव’ संचालन हुने भएको छ । मल्लरानी गाउँपालिकाको शिरमा रहेको मल्लरानी डाँडाको प्रर्वद्धन गर्ने उद्देश्यले खलंगाका यूवाहरुको पहलमा महोत्सव हुन लागेको हो । महोत्सव संचालनका लागि १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासुप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । महोत्सव संचालनका लागि मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, ओम बहुउद्देश्यिय सहकारी संस्था, खलंगा नेवा समाजले सहकार्य गरेका छन् ।

महोत्सव संचालनका लागि मूल आयोजक समितिका संयोजक एवं मल्लरानी बजार क्षेत्रका अध्यक्ष श्रेष्ठले नगद १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मल्लरानी गाउँपालिकाको कार्यालयले यसअघि बनाएको गुरुयोजना अनुसार अध्यक्ष श्रेष्ठको एकल लगानीमा मल्लरानीमा भगवती मन्दिर निर्माण गरिने प्रतिवद्धता समेत जनाएका छन् । महोत्सवबाट संकलित रकमले मल्लरानीको पर्यटन प्रवद्र्धनमा खर्च गरिने आयोजकले जनाएको संकलित रकमले मल्लरानीको पर्यटन प्रवद्र्धनमा खर्च गरिने आयोजकले जनाएको छ ।

मूल आयोजक समिति गठन कार्यक्रममा खलंगाका स्थानीय यूवा प्रमोदलाल श्रेष्ठले महोत्सव संचाल गर्नुको औचित्यबारे जानकारी गराएका छन् । प्राकृतिक रुपमा मनोरम मल्लरानी डाँडामा पर्यटकीय हिसावले प्रशस्त संभावना रहेको श्रेष्ठले बताएका छन् । सिँढि निर्माण, भ्यू प्वाइन्ट, ट्रेकिङ रुट, पिकनिक स्थल, खलंगा–मल्लरानी सडक कालोपत्रे लगाएतका योजना संचालन गर्नका लागि राज्यको ध्यानाकर्षण महोत्सवबाट हुने उनको भनाई छ । यसका लागि आयोजकले विशेष पहल गर्नेछ । प्यूठान उपत्यकाबाट देख्न सकिने गरी मल्लरानी डाँडामा नेपालको राष्ट्रिय झण्डा राखिने समेत आयोजकले जनाएको छ । तीन दिनसम्म संचालन हुने महोत्सवमा खलंगाको पुरानो नेवारी संस्कार झल्कने गरी दर्शकहरुलाई मनोरम प्रदान गरिने तयारी रहेको स्थानीय यूवा निरञ्जन श्रेष्ठले जानकारी दिए ।