बागलुङ : नेपाल टेलिकमले ताराखोला गाउँपालिका १ अमरभुमिमा नव निर्मित नमस्ते मोवाईल टावरबाट चौंथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गर्दै ग्रामीण क्षेत्रका जनतालाई सर्वसुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले बताए ।

फोरजी सेवा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताले उच्च गतीको अत्याधुनिक प्रविधीको मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्नेछन । ताराखोला गाउँपालिकाको वडा नं १ अमरभुमि, वडा नं २ अर्गल, वडा नं ३ हिल र गलकोट नगरपालिका ५ टेउवाका मोवाईल प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
गलकोटमा फागुन ५ गते देखि २१ गतेसम्म सञ्चालन हुन थालेको अन्तराष्ट्रिय मुर्तिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ । गलकोट नगरपालिका ५ हरिचौर टेउवामा ईतिहाँसमै पहिलो पटक अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला सञ्चालन हुँदै छ । कार्यशालामा ५ स्वदेशी सहित १० विदेशी मुर्तिकारहरुको सहभागीता हुँदैछ ।
गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरिएको हो । त्यहाँ पुग्ने पर्यटकहरुलाई ईन्टरनेटको पहुँचमा सहज तरिकाले जोडन टेलिकमले फोरजी सेवा शुभारम्भ गरेको हो । फोरजी लाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेट सहितको मोबाइल) सेवा मानिन्छ । फोरजी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो । वरिष्ठ इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ ।