मदाने (गुल्मी) : कृषि बिकास बैंक कर्मचारी संगठन जिल्ला समिति रुपन्देहीले मदाने गाउँपालिका ७ मा रहेको सुज्र्याङ्ग आधारभुत विद्यालयलाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरिएको हो । समितिले २०७६ सालमा भैरहवा र बुटवल क्षेत्रमा देउँसी भैलो खेलेर जुटाएको रकमबाट उक्त सामग्री वितरण गरेको हो । उक्त विद्यालयका बाल विकासदेखी कक्षा ५ सम्मका ५५ जना विद्यार्थीहरुलाई खेलकुद पोशाक समेत प्रदान गरिएको छ । शैक्षिक, खेलकुद र पोशाका सामग्री पाएपछि विद्यालय परिवार खुसी भएको छ । सोही कार्यक्रमको अवसरमा विद्यालयले आफ्ना अग्रजहरुलाई सम्मान समेत गरेको छ ।

संगठनका रुपन्देही जिल्ला समिति संयोजक बालकृष्ण अर्यालको अध्यक्षता, कृषि बिकास बैंक लिमिटेड प्रदेश ५ कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाको प्रमुख आतिथ्यता, मदाने गाउँपालिका वाड नम्वर ७ का अध्यक्ष काशी बहादुर बोहोरा, संगठनका प्रदेश ५ संयोजक बिनोद केसी र कृषि बिकास बैंक लिमिटेड पुर्कोटदहका प्रबन्धक ईश्वरी प्रसाद नेपालको विशिष्ट अतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा नेता प्रेम घिमिरेले युवाहरुलाई समेटेर बैंकले अझै उत्पादनशिल क्षेत्रमा लगानी गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने अतिथीहरुले सरकारले गर्नुपर्ने कामा संगठनले गरेकोमा प्रशंसा गरे । विद्यालय निरीक्षक हरिहर बेल्वासे, व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद पन्थी, शिक्षक महासंघ मदानेका अध्यक्ष बोम बहादुर कुंवर लगायतले बिकट ठाउँमा समेत संस्थागत सामुदायिक उत्तरदायित्व कार्यक्रम गरेकोमा आभार व्यक्त गरे । वैंकका प्रतिनिधीहरुले बैंकले उपलब्ध गराएका सेवा सुविधाहरुको बारेमा चर्चा गर्दै मदाने क्षेत्रका बासिन्दाहरुलाई खाता खोली नाता जोड्न समेत आग्रह गरे । कार्यक्रमको उदेश्यका बारेमा संगठनका प्रदेश संयोजक बिनोद के.सीले र सहजीकरण संगठनका प्रदेश सदस्य जनक प्रसाद ज्ञवालीले गरेका थिए ।