बाग्लुङ : यूवाहरु विदेशिएसँगै गाउँघरमा कामदारको अभाव छ । दशैँ सकियो । किसान खेतीपाती भित्र्याउनै व्यस्त छन् । खेतभरी धान झुलेको छ । किसानलाइ धान भित्र्याउने र गहु छर्ने चटारो छ । गलकोट नगरपालिका–७ मल्म आगाकखेत, बाह्रमुरी र आगाकको फाँटमा हिजोआज यही दृश्य देख्न पाईन्छ ।
मिनी टेलरबाट खेत जोत्दै किसान । तस्विर : थम्मन
दशैं मनाउन गाउँ फर्किएकाहरु समेत खेतीपातीमै व्यस्त छन् । गाउँमा कामदार पाईनै मुस्किल भएपछि मिनी टेलरको प्रयोगमा किसानको आकर्षण बढ्दै गएको छ । धान काटने, झाँट्ने, पराल बोक्ने समस्या छ । प्रायः गाउँका युवा यूवती रोजगारीको शिलशिलामा जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, दुवै, कतार, मलेशिया लगाएत देशमा छन् ।
पछिल्लो समय सडकको विस्तारसँगै प्रविधिले धेरै सहजता प्रदान गरेको छ । कामदारको अभावमा प्रविधि र उपकरणहरु किसानका सहयात्री बनेका छन । खेत जोत्न कल्टीभेटर मिनी हलो ट्याक्टर उपयोगी बनेका छन् । धान बोक्न र पराल ओसार्न ट्याक्टर बहुउपयोगी छ । गाउँमा कामदारको अभाव सँगै गोरुपाल्ने किसानहरु कम हुँदै गएका छन् । फाट्टफुटुट गोरु पाइएपनि गोरुबाट खेतवारी जोत्नका लागि ६ महिना अघिदेखि नै बुकिङ गर्नुपर्ने अवस्था छ । गोरुले दिनभर लाग्ने मेलो दुई÷तीन घण्टामै ट्याक्टरले काम गर्दछ । किसानले मिनी टेलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेशिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसर लगायतका औजारको प्रयोग गर्न थालेपछि यसको कारोवार समेत बढेको छ । कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनी टेलर हलो बढी रुचाएका छन् ।