बांगेशाल(प्यूठान) : लकडाउनकै कारण यसपटक पनि सुकाखोला पक्की पुल निर्माणको काम लम्बिने भएको छ । २०७४ जेठ १५ गते सम्झौता भई डेढ वर्षमा सम्पन्न गर्ने गरि भैरव÷आँशु÷ईशान जेभीले २ करोड ६० लाख १९ हजार रुपैयाँमा उक्त पुल निर्माण कार्यको जिम्मा लिएको थियो । करिब डेढ वर्षजति ढिलो हुनेगरि आउँदो असार मसान्त सम्ममा पुल पुरा हुनेमा स्थानीयबासीको आशा निराशामा बदलिन थालेको सरुमारानी गाउँपालिका वडा नं १ का अध्यक्ष मुकुन्दराज शर्माले बताए । ‘अब बर्खामा सुकाखोलाले सास्ती दिन्छ’, शर्माले भने,‘यहि असार सम्ममा पुल बन्छ की भन्ने थियो, आशा मरिसक्यो ।’
लकडाउनले रोकिएको पुल । तस्विर : प्यार
लकडाउनकै कारण पुल निर्माणको अपुरो काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि नविन श्रेष्ठले बताए । ‘पुल ढलानको अन्तिम तयारीमा छौं’ श्रेष्ठले भने,‘रेडिमिक्समा काम गर्ने दक्ष जनशक्ति नभएकै कारण काम रोकिएको हो ।’ मजदुर आएपछि तीन दिनमै ढलान हुने उनको भनाई छ । ‘क्वालिटी कन्ट्रोलर’ मा काम गर्ने दक्ष प्राविधिक लकडाउनकै कारण भारतमा रोकिएकाले निर्माण कार्य रोकिन गएको श्रेष्ठले बताए । बर्खामा सास्ती व्यहोर्दै आएका यहाँका स्थानीयहरुलाई दरभान–बाङगेसाल सुकाखोलामा निर्माणाधिन पक्की पुल समयमै निर्माण भए सुबिधा हुने आशा छ ।