सरुमारानी(प्यूठान) : लकडाउनमा पनि सरुमारानी गाउँपालिकाको दरभान क्षेत्रमा विकास निर्माण भइरहेको छ । दरभान–ऐरावती सडक स्तरोन्नतिको काम धमाधम भइरहेको हो । दरभान–झिलिबाङ हुँदै ऐरावती सम्म पुग्ने मोटरबाटोमा ६ किलोमिटर ग्राभेल गर्ने र वाँकी ट्रयाक खोल्न निर्माणको काम चलिरहेको छ । सात करोड रुपैयाँ बराबरको बजेटमा सडक स्तरोन्नतीको ठेक्का एडी बिल्डर्स बौद्ध काठमाडौंले ल्याएको छ । सडक निर्माणमा भ्याट वाहेक तीन करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
धमाधम ग्राभेल भइरहेको सडक ।
आर्थिक वाषर्् २०७३÷२०७४ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि निर्माण कम्पनीले समयमै योजना पुरा गर्न नसक्दा निर्माणको काम लम्विएको स्थानीयले बताएका छन् । चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरि काम अघि बढीरहेको एडी बिल्डर्सका प्रतिनिधि इराजन घिमिरेले बताए । ‘स्थानीय सरकारसँग सम्वन्य गरि लकडाउन अवधिभर काम गरिरहेका छौं’,उनले भने,‘अहिलेसम्म करिब ८७ प्रतिशत काम सकिएको छ।’ ग्राभेलको काम सकिएको र करिब एक लाख ६० हजार घनमिटर माटो कटिङ मध्ये ३० हजार घनमिटरको मात्र कटिङको काम बाँकी रहेको उनको भनाई छ । सडकमा नाला, ग्याबिन भर्ने, वाल लगाउने काम सकिएको छ ।
८ मिटर चौडाई रहेको सडकमा ६ मिटर ग्राभेल गर्ने योजनो छ । दरभान देखि ऐरावतीको दुरी करिब १७ किलोमिटर पर्दछ । जाबुने सम्म ट्रयाक खोल्ने काम सकिएको छ । तीन किलोमिटर बाँकी ट्रयाक खोले ऐरावतीसम्म सहज रुपमा मोटरबाटो पुग्ने छ । तत्कालिन संविधानसभा सदस्य धनबहादुर रायमाझीको पहलमा योजना परेको स्थानीयबासी बताउँछन् । उक्त सडकले जलाशययूक्त नौमुरे जलविद्युत्त योजनालाई समेत जोडेको छ । सरुमारानी गाउँपालिका क्षेत्रमा कतिपय विकास निर्माणका योजनाहरु रोकिएका छन् भने केही योजनाहरु धमाधम भएका छन् । रोकिएका योजनाहरुलाई पूनः सुचारु गराउनका लागि गाउँपालिकाले प्रभावकारी भूमिका खेल्नुपर्ने स्थानीयवासीको माग छ ।