प्यूठान : कोरोनाको त्रासमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाउन प्यूठान उद्योग बाणिज्य संघले पहल गरेको छ । विहिवार जुम्रीमा संघले जिल्लाका संचारकर्मीहरु सँगको छलफलमा यस्तो जानकारी गराइएको हो । नेपाल उद्योग वाणिज्य महासंघले पनि बजार खुलाउनेबारे आवश्यक परामर्श गर्न सर्कुलर पठाएको संघका अध्यक्ष केदारमान कक्षपतीले सुनाए ।
उच्च सतर्कता अपनाएर बजार खुलाउने विषयमा छलफल भइरहेको उनको भनाई छ । कोरोनाको बढ्दो संक्रमण तथा जोखिमलाई मूल्यांकन गरि जिल्लामा आयात तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन संघले पहल गरेको कक्षपतीले बताए । छलफलमा सहभागी सञ्चारकर्मीहरुले कोभिड १९ को जोखिम दिनानुदिन बढ्दै गएकाले सुरक्षित विधि अपनाएर उपभोक्ताहरुलाई सेवा दिन संघलाई सुझाव दिएका छन् । संघको विहिवारै सदरमुकाम खलंगामा बसेको बैठकले लकडाउन खुकुलो बनाउन गरिएको आग्रह सहितको निर्णय जिल्ला विपत् व्यवस्थापन समितिलाई पठाएको छ ।