घोराही : घोराही उपमहानगरपालिका क्षेत्रमा निर्माणाधिन पक्की नाला समयमै सम्पन्न नहुँदा बजार अस्तव्यस्त बनेको छ । घोराही बजारको न्यू रोड, बैंक रोड र निमा हल रोडमा निर्माणधिन पक्की नाला अझै सकिएको छैन् । निर्माणको जिम्मा पाएका व्यवसायीहरुले लकडाउनका कारण काम हुन नसकेको प्रतिक्रिया दिएका छन् । लकडाउनपछि फाट्टफूट्ट खुलेका व्यवसायीहरुले अस्तव्यस्त सडकका कारण सहज रुपमा व्यवसाय संचालन गर्न नपाएको गुनासो गरेका छन् ।
निर्माणधिन नाला । तस्विर : प्यार
असार मसान्तसम्म योजना सक्नुपर्ने सम्झौता पुरा नहुने देखिएको दाङ जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालले बताए । ‘व्यवसायीले साउनमै कर तिर्नुपर्ने तर स्थानीय सरकारले समयमै काम शुरु गर्न नपर्ने ?’,उनले प्रश्न गरे,‘पुरानै संस्कृतिको निरन्तरता हुँदा समयमै विकास निर्माणले गति लिन सकेका छैनन् ।’ बजार क्षेत्रमा पक्की नाला समयमा नबन्दा त्यसको प्रत्यक्ष असर व्यवसायीलाई परेको उनको भनाई छ । सडकमा निर्माण सामाग्री अव्यवस्थित रुपमा राखिएको छ ।
असारमा बजेट आएपनि पुससम्म काम गर्ने सुरसार नहुँदा योजनाहरु अस्तव्यस्त बन्ने गरेको पाइएको उनको भनाई छ । गत वर्षकै योजना अन्तर्गत पक्की नालाका कामहरु अघि बढिरहेको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले बताए । ‘निर्माण कम्पनीसँग असार मसान्तमा नै योजना सम्पन्न गर्नेगरि सम्झौता भएको छ ।’ अर्यालले भने, ‘धेरै योजनाका कामहरुलाई लकडाउनले प्रभावित बनायो ।’ प्रदेस सरकारको समपुरक बजेट र उपमहानगरको ५० प्रतिशत बजेटमा नालाका कामहरु भइरहेको उनको भनाई छ ।
तुल्सीपुर चोक देखि दामोदर चोक न्यु रोडमा १ करोड ३ लाख रुपैयाँमा टेण्डर भई थ्रिजी कन्ट्रक्सनले काम गरिरहेको छ । निमा हल लाइनमा ९५ लाखमा टेण्डर भई हरितारा कन्ट्रक्सनले काम गरिरहेको उपमहानगरका योजना महाशाखा प्रमुख युवराज पौडेलले जानकारी दिए । बैंकरोड देखि जानकी टोलसम्म स्थानीय उपभोक्ता समिति मार्फत १५ लाखको बजेटमा नालाको काम भैरहेको छ ।