- निर्माणधिन सवस्टेशन छिट्टै पुरा गर्न आग्रह
प्यूठान : पछिल्लो समय प्यूठानमा विद्युत्त आपूर्ति अनियमित भएको भन्दै जिल्लामा क्रियाशिल दुई विद्यार्थी संगठनले नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र प्यूठानलाई ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियू र नेपाल विद्यार्थी संघ प्यूठानले आइतवार प्राधिकरणलाई संयूक्त ध्यानाकर्षण गराएका हुन् ।
छिनमै आउनेजाने विद्युत्त आपूर्तिले जिल्लाका विद्यार्थी, उद्योगी, व्यवसायी र आम नागरिक मर्कामा परेकाले यसको दिगो समाधान खोज्न संगठनले आग्रह गरेका छन् । विद्यार्थी संगठनहरुले जिल्लामा ‘अघोषित लोडसेडिङ’ गरिएकोप्रति आपत्ति जनाएका छन् ।
प्यूठान नगरपालिका ८ स्थित दम्तीमा निर्माणधिन सब स्टेशनको निर्माण समयमै नसक्दा जिल्लाबासीले अघोषित लोडसेडिङको मार खेप्नुपरेको उनीहरुको भनाई छ । अनेरास्ववियूका जिल्ला संयोजक जाल बहादुर के.सी. र नेविसंघका जिल्ला अध्यक्ष एनपी मगरले संयूक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘दुई वर्षदेखि अलपत्र रहेको सब स्टेशनको नियमन गरी यथाशिघ्र समस्या समाधान समाधान गर्न ध्यानाकर्षण गराउँदछौ । ध्यानाकर्षणलाई वेवास्ता गरेमा त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवार सम्वन्धित निकाय रहनेछ ।’ विद्युत्त आपूर्ति नियमित नभएको भन्दै जिल्लाबासीको आक्रोश दिनानुदिन बढ्दै गएको छ ।
ध्यानाकर्षणपत्र
