- निजामति कर्मचारी सँगै बुझ्नेछन् इस्माका शिक्षकहरुले तलव
गुल्मी : चौमासिक रुपमा तलव भत्ता बुझ्दै आएका इस्मा गाउँपालिका गुल्मीका शिक्षकहरुले अवदेखि मासिक रुपमा बुझ्ने भएका छन् । गाउँ कार्यपालिकाको बैठकले शिक्षकहरुको तलव निजामती कर्मचारी सरह मासिक रुपमा दिने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यन्वयनमा आएसँगै गाउँपालिका क्षेत्रभित्र कार्यरत शिक्षक, कर्मचारीहरु उत्साहित भएका छन् । चौमासिक रुपमा तलब बुझ्दा घरायसी आर्थिक कारोवार मिलाउन समस्या हुने गरेको अधिकांश शिक्षकहरुले गुनासो गर्दै आएका थिए । शिक्षक, कर्मचारीहरुको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले मासिक रुपमा तलव भत्ता दिने व्यवस्था मिलाएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लाल बहादुर कुँवरले जानकारी दिए ।
‘निर्णय कार्यन्वयनमा आएसंगै शिक्षक, कर्मचारीहरुको चैत महिनाको तलव खातामा गइसक्यो’ कुवँरले भने ०७३ सालदेखि शिक्षकहरुबाट माग आएको थियो, यसपाली पुरा भएको छ । सवै खुसी छौँ ।’ गाउँपालिकामा बालविकास केन्द्र ४, मावी ७ , निमावी १० र प्रावि २६ गरि जम्मा ४७ विद्यालयहरु रहेको कुवँरले बताए । उनका अनुसार शिक्षक कर्मचारीहरु १ सय ८४ जना कार्यरत छन् ।
तलव र पोशाक खर्च गरी चैत महिनाको ९८ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ शिक्षक, कर्मचारीहरुको बैक खातामा पठाइसकिएको गाउँपालिकाका लेखा अधिकृत अशोक कुमार खड्काले जानकारी दिए । शिक्षकहरुको तलव भत्ता मासिक रुपमा भूक्तानी गर्ने इस्मा गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह हो ।