प्यूठान : गएराती आएको पहिरोले गौमुखी गाउँपालिका ५ मा रहेको खुङ स्वास्थ्यचौकीमा क्षति पु¥याएको छ । स्वास्थ्यचौकी देखि दुई सय मिटर माथीबाट आएको पहिरोले भवनको छानोमा क्षति पुगेको स्वास्थ्यचौकी इन्चार्ज दुर्गा प्रसाद शर्मा रिजालले जानकारी गराए । स्वास्थ्यचौकीमा ६ जना कर्मचारी सहित उनका तीन जना परिवार सुतिरहेका थिए ।

पक्की भवन भएका कारण थप क्षति हुनबाट जोगिएको इन्चार्ज रिजालले बताए । ‘आकाश गड्याङ गुडुङ गरेको थियो, आवाज त आएको थियो’,उनले भने,‘पहिरोले भवनमा क्षति पुगेको विहान उठेपछि मात्र थाहाँ भयो ।’ स्वास्थ्यचौकीको कोठाहरुमा माटोको लेदो पसेको उनले सुनाए । गौमुखी गाउँपालिकाको डोजरले माटोको लेदो निकाल्ने काम भइरहेको स्थानीय बरुणध्वज मल्लले जानकारी गराए । तीन दिनदेखि प्यूठानमा लगातार पानी परिरहेको छ । लगातारको पानीले जिल्लाका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् ।
तस्विर : बरुणध्वज मल्ल ।