मदाने (गुल्मी) : मदाने गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले कर्मचारी प्रशासकहरु व्यवहारिक र जनमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । आइतबार मदाने गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्दै उनले गाउँपालिकाको समग्र बिकास र समृद्धिको लागि जनप्रतिनिधि कर्मचारी र गाउँसबासीको समन्वयकारी भूमिका आवश्यक पर्ने बताए ।

झिमरुक गाउँपालिका प्यूठानबाट तीन वर्ष १ महिना १८ दिनको कार्यकाल पछि उनी मदानेमा सरुवा भएका हुन् । गृृह जिल्ला र आफ्नै गाउँपालिकाबासीको सेवा गर्न पाएकोमा भुसालले खुसी व्यक्त गरे । जनप्रतिनिधी, जनता र कर्मचारीहरुहरुको त्रिपक्षिय सम्वन्धले समग्र मदानेको विकासमा आफूले विशेष भूमिका निर्वाह गर्ने भुसालले सुनाए ।

उनले समाज यूग र प्रबिधि परिवर्तनशील रहेको उल्लेख गर्दै कर्मचारीहरुले पनि आफुलाई समयानुकुल परिवर्तन गरि ऐन नियम कानुनको परिधिभित्र रहेर काम गर्न कर्मचारीहरुलाई आग्रह समेत गरे । जनताको नजिकको सरकारको रुपमा स्थानीय सरकार भएकोले सिद्धान्तलाई व्यवहारसँग मिलाएर काम गर्न सकेमा परिणाम निकाल्न सकिने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता खड्का वडा अध्यक्षहरु शाखा प्रमुख कर्मचारीहरु लगाएको उपस्थित थियो ।