झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले बताएका छन् । विषयगत शिक्षकहरुसंग छलफल तथा अनुभव आदानप्रदान कार्यक्रमको समापनमा उनले यस्तो बताए । शिक्षा जस्तो संबेदनशिल क्षेत्रमा खेलवाड नगरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मन वचन र कर्मले शिक्षाप्रेमीहरु अग्रसर हुनुपर्ने उनले आग्रह गरेका छन । शिक्षालाई सबैको पहुँचको दायरामा लिएर आम नागरिकले सजिलोसँग प्राप्त गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने उनको भनाई छ । शैक्षिक गुणस्तरका लागि स्थानीय सरकार के गर्नुपर्छ ? कहाँ लगानीको खाँचो पर्छ ? त्यसका लागि सदैव तयार रहेको उनले स्पष्ट पारे ।
विद्यार्थी सिकाईलाई थप प्रभावकारी बनाउन जिम्मेवार भएर शिक्षकहरु नै लाग्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुबास रिजालले बताए । सूचना प्रबिधिको बिकाससंगै आफूलाई परिमार्जित गरेर शिक्षण शिकाईलाइ व्यवहारिक र बालबालिकामैत्री बनाउन उनले सुझाए । दुई दिनसम्म संचालित कार्यक्रममा कक्षा ६ देखि १२ सम्म अंग्रेजी र नेपाली बिषय पढाउने शिक्षक, शिक्षिकाहरु तथा गणित बिज्ञान, सामाजिक बिषय पढाउने शिक्षक शिक्षिकाहरु बीच अनुभव आदानप्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख मोहन बिसी र प्राबिधिक सहायक पुष्प रानाले गरेका थिए ।