प्यूठान : कोभिड–१९ को तेस्रो लहर शुरु भएसंगै प्यूठानका सामुदायिक तथा संस्थागत तहका सबै विद्यालयहरू बन्द हुने भएका छन् । मंगलबार सदरमुकाम खलंगामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका विभिन्न ठाउँमा लाग्ने माघी मेला समेत लगाउनमा रोक लगाएको छ । धार्मिक तिर्थस्थलहरुमा स्थलहरुमा नृत्य, पूँजा बाहेकका सबै क्रियाकलापमा रोक लगाउने निर्णय भएको छ ।
स्वर्गद्वारी मन्दिरमा दर्शनका लागि अनिवार्य खोप कार्ड लागुगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ओमिक्रोन लगायतका भेरियन्टको संक्रमणबाट जोगिन प्यूठानका ९ वटै स्थानीय तहमा पूर्व तयारीका लागि जुट्ने निर्णय गरिएको छ । जिल्ला आईसोलेशन केन्द्रको पूर्व तयारीका लागि बिजुवारमा रहेको निर्माण व्यवसायी संघको भवन प्रयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।