झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका वडा नं ३ को आफ्नै भवन बनेको छ । नवनिर्मित भवनको शुक्रवार उद्घाटन गरिएको हो । आहालखोलाको डाडाडिहीमा भवन निर्माण गरिएको छ । प्रमुख अतिथी जिल्ला समन्वय समिती प्यूठानका प्रमुख केशवराज आचार्यले आचार्यले निर्वाचित जनप्रतिनिधिहरुले पालिका क्षेत्रमा विभिन्न विकास निर्माणका सकारात्मक र जनमुखी कामहरु गरेको बताए ।
सडक, विद्युत्त, खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकता दिई काम गरेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले बताए । आफ्नो कार्यकालमा पालिका भित्रका सबै वडालाई सुविधा सम्पन्न र सबैको आफ्नो भवन निर्माण गर्ने योजनामा रहेको उनले बताए । हालसम्म झिमरुकले १, ३, ४, ५ र ६ नम्बर वडाका तथा पालिकाको भवन निर्माण सम्पन्न गरेका छन् ।
३ नम्वर वडा कार्यालय निर्माणका लागि स्थानीय प्रेम बहादुर खत्री, केशरजंग एमसी स्व.कृष्ण प्रसाद जैसी, रोम बहादुर एमसी, फत्ता कुमारी जैशी र डाली कुमारी जैसी २ हजार ६ सय ६८ दशमलव ९१ वर्गमिटर अर्थात ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्थापनाका वर्षदेखी मासिक ६ हजार रुपैयाँ भाडाको भवनबाट सेवा दिँदै आएको वडा कार्यालयले आफ्नो भवन निर्माण गरेपछि काममा सहज हुने विश्वास लिएको वडा अध्यक्ष मीन बहादुर केसीले बताए ।
करिब ३ रोपनी जग्गामा उपभोक्ता समिति मार्फत हल सहित ४ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित ४२ लाख २२ हजार ९ सय ५५ जिल्ला समन्वय समिती प्यूठानबाट २५ लाख र स्थानीय जनश्रमदान ८ लाख ६२ हजार ६ सय ९३ रुपैँयाँ गरी ७५ लाख ८५ हजार ३ सय ४८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको रिजालले जानकारी दिए ।