झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका वडा नं १ को नयाँ भवनको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले शुक्रबार भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरे । सौतामारे फेदीमा दुई तले पक्की भवन निर्माण गरिएको छ । गाउँपालिकाको बहुवर्षिय योजनाको रुपमा रहेको वडा कार्यालय भवन निर्माण गर्ने जिम्मा मल्लरानी कन्ट्रक्सनले पाएको गाउँपालिकाका सब इन्जिनियर नगेन्द्र आचार्यले जानकारी गराए ।
चालु आर्थिक वर्षको जेठसम्म भवन निर्माण पुरा गर्नेगरी ६५ लाख रुपैयाँ लागतमा निर्माण कम्पनीले जिम्मा पाएको आचार्यले बताए । भवन सम्झौता अगावै निर्माण पुरा भएको वडा अध्यक्ष धुर्वराज खनालले जानकारी दिए । नवनिर्मित वडा कार्यालय भवनमा हल सहित ४ वटा कोठा छन् । ती कोठाहरु अपांगमैत्री छन् । करिब ३ रोपनी ३ आना क्षेत्रफल जग्गामा भवन बनेको हो । स्थानीय तेजबहादुर केसी, बसन्ता केसी र कला कुमारी जिसीले भवन निर्माणका लागि निःशुल्क जग्गामा दिएको वडा अध्यक्ष खनालले बताए ।
स्थापनादेखि भाडाको कार्यालयबाट सेवा दिदै आएको वडाले आइतबारदेखि नवनिर्मित भवनबाट काम थाल्नेछ । ‘वडा कार्यालय राम्रो भएर मात्रै हुँदैन’, खनालले भने, ‘कार्यालयबाट जनतालाई दिने सेवामा जनमुखी जवाफदेही र सर्वसुलभ भरपर्दो भयो भएन त्यसमा भर पर्छ ।’
निःशुल्क जग्गादान गर्ने जग्गादाताहरुलाई कदर पत्र र दोसल्लाले सम्मान गरिएको थियो । गाउँपालिकाभरमा वडा नं ८ को कार्यालय भाडाको भवनबाट सञ्चालनमा छ । वडा नम्वर २, र ७ वडा कार्यालय साकिककै गाविस भवनबाट कार्यालयका नियमित कामकाज सञ्चालन भएका छन् ।