प्यूठान : प्यूठान नगरपालिकाले अभिभावक विहिन बेसहारा बालबालिकाहरुलाई शिक्षामा समान पहुँचका लागि निःशुल्क आवाशिय सुविधा सहित पठनपाठनको व्यवस्था मिलाएको छ ।
नगरपालिकाले जिल्लाकै जेठो मुक्ति माध्यमिक विद्यालय रातामाटामा आवाशिय सुविधा सहितको पठनपाठनको व्यवस्था मिलाएको नगरप्रमुख विष्णु योगीले जानकारी गराए । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बेसहारा बालबालिकालाई माध्यमिक तहको शिक्षासम्म निःशुल्क आवाशिय सुविधा सहित शिक्षा दिने नगरको नीतिगत योजना रहेको नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठको भनाइ छ । हालसम्म ४० जना अभिभावक विहिन बालबालिकाहरुको तथ्यांक संकलन गरिसकिएको उनले जानकारी दिए ।
नगरभित्रका १० वटै वडा भित्रबाट सम्बन्धित वडाको सिफारिसमा अभिभावक विहिन बालबालिकाहरुको पहिचान गर्ने व्यवस्था मिलाईएको छ । विद्यालयमा आवाशिय छात्रावास व्यवस्थापनका लागि संचालक समितिको गठन गरिएको मुक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर विष्टले बताए ।
‘विद्यार्थीको सम्पूर्ण जिम्मीवारी हामीले लिनेछौं’,विष्टले भने,‘यो परोपकारी सहितको नमूना कार्यक्रमको रूपमा बुझेका छौं र हामी विद्यालय परिवारको लागि अवसरको रूपमा लिएका छौं ।’ अहिले १० जना विद्यार्थीलाई विद्यालयमा व्यवस्थापन गरिसकिएको उनले बताए ।