प्यूठान : प्यूठान नगरपालिकाले किसानलाई दुधमा अनुदान दिने गरेको छ । किसानलाई दुग्ध उत्पादनमा प्रोत्साहित गर्न प्रति लिटर दश रुपैयाँ अनुदान दिने नीति ल्याईएको नगरप्रमुख विष्णु योगीले जानकारी गराए । ‘किसानको सम्मानको लागि उत्पादन हातमा अनुदान साथमा भन्ने नीति अबलम्बन गरेका छौं’, उनले भने ।
नगरपालिकाले दुई वटा सहकारी मार्फत यस कार्यक्रमलाई अघि बढाएको छ । वडा नं १ खैरा स्थित शिवालय दुग्ध सहकारी संस्था र वडा नं ३ मा जुम्रीमा अवस्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था छनौटमा परेका छन् । दैनिक २ सय ५० लिटरसम्म दूध संकलन हुँदै आएको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले जानकारी गराए । संकलित दुध विजुवार पठाउने गरिएको उनले बताए ।
नागबेलीमा दैनिक १ सय देखि १ सय ५० लिटर दूध संकलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले जानकारी दिए । ‘हामीले नगरपालिकालाई त्रैमाशिक रिपोर्ट दिने गरेका छौं’, पाण्डेले भने,‘किसानहरूकै खातामा सोझै नगरपालिकाले अनुदानको रकम हाल्दिने व्यवस्था छ ।’ नगरपालिकामा दैनिक १ हजार ५ सय लिटर दुध खपत हुने आँकलन गरिएको उनले बताए । नगरपालिकाका अन्य वडाहरूमा पनि छिट्टै डिपो राखी दुध संकलन गर्ने योजना रहेको उनले सुनाए । भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहेजति दुध संकलन गर्न नसकिएको उनी बताउँछन ।
कार्यक्रम शुरु भएकै पहिलो त्रैमासिकमा अनुदान वापत ४ लाख रुपैयाँ दिईएको उपप्रमुख देवेन्द्र ब्रह्माले जानकारी दिए । दुधको साथ साथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको ब्रह्माले जानकारी गराए ।