प्यूठान : प्यूठान नगरपालिकाका कर दाताहरुले कर करले होइन रहरले तिर्नुपर्ने परिस्थिती सिर्जना गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । आईतबार प्यूठान नगरपालिकाको आयोजना तथा प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको समन्वयमा नगरपालिका स्तरीय करदाता शिक्षा कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् ।
प्यूठान नगरपालिका–२ चितिखोलाका व्यवसायी मधुसुदन शर्माले एकै प्रकृतिको व्यावसायिक दर्ता सिफारिशमा वडा तथा नगरपालिकाले दोहोरो शुल्क लिन नहुने तर्फ ध्यानाकर्षण गराए । बाग्दुलाका हार्डवेयर व्यवसायी रमेश पौडेलले वाणिज्य विभागमा दर्ता भएका वाणिज्य व्यवसायिक फर्महरुलाई नगरपालिकाले कम शुल्क लिनुपर्नेमा जोड दिए ।
करपाटीमा भ्याट पान देखिने गरी राख्दा त्यसको गलत प्रयोग भइरहेको प्यूठान उद्योग वाणिज्य संघका कोषाध्यक्ष झविन्द्र शर्माले जानकारी गराए । ‘व्यवसायीहरु मिस म्याचमा पर्नुको मुख्य कारण यहि हो’,शर्माले भने, ‘वर्षौ अघि सामान खरिद गरि बिक्री गरिसकेका हुन्छौं पछि आएर ति पुराना भ्याट बिल नक्कली भएको थाहाँ हुन आउँछ । हामी व्यवसायी मिस म्याच जरिवाना फस्दै आएका छौं ।’
करदाता शिक्षा कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूलाई स्थायी लेखा नम्वर दर्ता, कर दर्ता, आयकर, मूल्य अभिवृद्धि कर, अन्त शुल्क इजाजत लगायतका विषयमा करदाता सेवा कार्यालय जसपुरका कर अधिकृत उपेन्द्र पुनले सहजीकरण गरेका थिए ।
स्थानीय सरकारले लिने गरेका विभिन्न कर तथा राजस्व सम्बन्धमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले सहजीकरण गरेका थिए । नगरपालिकाका राजस्व परामर्श समितिका संयोजक तथा प्यूठान नगरपालिकाका उपप्रमुखदेबेन्द्र वर्माले करदाता शिक्षा कार्यक्रमको उद्घाटन गरेका थिए ।
नगरवासीहरुलाई विश्वासमा लिएर करका दर भन्दा दायरा फराकिलो बनाउने तर्फ नगरपालिका अघि बढ्न लागेको उनले बताए । नगरपालिका भित्र घर अभिलेखीकरण गर्न छुटेका घर धनीहरुलाई अविलम्ब यस प्रक्रियामा जोडिएर सेवा लिन उनले आग्रह गरे ।
नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले करको बारेमा व्यवसायी पूर्ण रूपले जानकार हुनुपर्नेमा जोड दिए। ‘व्यवसायीहरुलाई पूनर्ताजगी गराईरहन नगर उद्योग वाणिज्य संघ प्रतिबद्ध रहेको उनको भनाई छ । कार्यक्रममा नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा वडा सचिवहरु, नगर भित्रका व्यवसायीहरुको सहभागीता रहेको थियो ।