प्यूठान : प्यूठान नगरपालिकाले दुर्गम बस्तीमा पुगेर विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाले वडा नं ६ को माझकोट र वडा न ८ को भेडाबारीमा शिविर सम्पन्न गरेको हो । शिविरमा तीन सय ८३ जनाले प्रत्यक्ष रूपमा सेवा लिएको प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिए । शिविरमा २ सय ८५ जना महिला ९८ जना पुरुषले स्वास्थ्य सेवा लिएको उनले बताए ।
पाठेघरको मुखको क्यान्सर जाँच, स्क्रिनिङ पाठेघर जाँच, सुगर, उच्च रक्त चाप, गर्भवती महिलाको भिडियो एक्सरे, हाडजोर्नी तथा नशा लगायत नाक, कान, घाँटी, दम, खोकी, टाउको दुःखेको लगाएत सामान्य रोगका बिरामीले स्वास्थ्य उपचार गराएका थिए ।
विकट गाँउ बस्तीका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि शिविर सञ्चालन गरिएको नगरप्रमुख विष्णु योगीले बताए। ‘नगरपालिका भित्रका सबै दुर्गम बस्तीमा शिविर सञ्चालन हुँदै जाने छन्’,योगीले भने,‘शिविरमा प्यूठान अस्पतालका विशेषज्ञ डाक्टर सहित स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएकोे छ ।’