प्यूठान : प्यूठानको सरुमारानी गाउँपालिकाले एसईई परीक्षा नतिजाको समिक्षा गरेको छ । शुक्रवार गाउँपालिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षा शाखा प्रमुख सहित छलफल गरिएको पालिकाका प्रवक्ता चिन्त सोमैले जानकारी गराए ।
शैक्षिक गुणस्तर सुधारका लागि विशेषत शिक्षक आफ्नो पेशाप्रति थप उत्तरदायी तथा जवाफदेही हुनुपर्नेमा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जोड दिए । ‘पालिकाले दण्ड र पुरस्कारको नीति अवलम्बन गर्नेछ’, विश्वकर्माले भने, ‘शिक्षक अभिभावक शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्नेछौं ।’
अन्तक्रिया कार्यक्रममा विद्यार्थीहरुलाई अनुशासन सहित पढाई प्रति उत्प्रेरणा जगाउने, विद्यालय शिक्षकहरुको एकतामा विशेष जोड दिने, विद्यालय व्यवस्थापन समिति थप शसक्त र प्रभावकारी बन्नुपर्ने, आधारभूत तहबाटै शैक्षिक गुणस्तर सुधार गर्दै लैजानु पर्ने, सरोकारवालाहरुको अनुगमन प्रभावकारी बनाउन पर्ने, शिक्षासंग सम्बन्धित आधारभूत आवश्यकता लगाएत भौतिक पूर्वाधारका संरचनाहरु निर्माणमा जोड दिइनुपर्ने सुझाव औँल्याइएको छ ।
पालिकाभर कुल ३ सय ४७ जनाले एसईई परीक्षा दिएकोमा १९ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । कुल विद्यार्थी संख्याको ५ दशमलव ४७ प्रतिशत मात्र हो ।