प्यूठान : प्यूठानको एक मात्र स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र संचालनमा कठिनाई हुँदै आएको छ । सर्पदंश उपचार केन्द्रमा अहिले औषधीको अभाव हुँदै गएको उपचार केन्द्रका प्रमुख अहेव हेमराज पौडेलले जानकारी गराए ।
‘औषधी निःशुल्क दिने भनिएको थियो’,पौडेलले भने, ‘बिरामीलाई बाहिर किन्न पठाउँदा उहाँहरु आनाकानी गर्ने समस्या पनि छ ।’ उपचार केन्द्रमा अहिले तीन जना बिरामीको उपचार चलिरहेको छ । हालसम्म उपचार केन्द्रबाट ६६ जना बिरामीले सेवा लिएका छन् एक जना बिरामी मात्रै रेफर गरिएको केन्द्रले जानकारी गराएको छ । उपचार केन्द्र उद्घाटन भएपश्चात एकपटक पनि निर्देशक समितिको बैठक बस्न नसकेको पौडेलले बताए ।
शर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतामा निर्देशक समिति गठन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी गराए ।
निर्देशक समितिका सदस्य सचिव समेत रहेका केसीले भने, ‘जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नेगरी सबैको अपनत्व रहने गरी सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको हो ।’ उपचार केन्द्रमा नगरपालिकाले अहेव, नर्सिङ स्टाफ, कार्यालय सहयोगी खटाउँदै आएको छ । नेपाली सेनाबाट २ जना प्राविधिकले सहयोग गर्दै आएका छन् । सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि जिल्लाका ६ वटा स्थानीय तहले प्रतिबद्धता गरे बमोजिम सहयोग नगरेको निर्देशक समितिका अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले गुनासो गरे ।
‘गाउँपालिकाले ४ लाख नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भनिएको थियो’, भण्डारीले भने, ‘गौमुखी र झिमरुक बाहेक अन्य स्थानीय तहबाट सहयोग आएको छैन् ।’ भवन बनाउँदा बाँकी बक्यौता रहेको उनले बताए । सबैको साझा प्रयासबाट मात्रै उपचार केन्द्र सञ्चालन गर्न सम्भव हुने उनले प्रतिक्रिया दिए ।