
कपिलवस्तु : विजयनगर गाउँपालिका कपिलवस्तुले भारत लगाएत तेस्रो मुलुकबाट आएका नागरीकहरुको घरमा रातो चिन्ह लगाएको छ । उनीहरुको पहिचान गर्न सजिलो होस् भन्नका लागि रातो चिन्ह लगाइएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराइले जानकारी गराए । हालसम्म गाउँपालिकामा ४ सय ९५ जना भित्रिसकेको उनको भनाई छ । ती मध्ये धेरैजसो भारतबाट आएका हुन् ।

मंगलबारसम्म १ सय ८२ जनाको घरमा रातो चिन्ह लगाइसकिएको भट्टराइले जानकारी गराए । ‘बाँकी घरमा चिन्ह लगाउने काम जारी छ’,उनले भने,‘एक÷दुई दिनमै सकिन्छ ।’ उनले कोरोनाको संक्रमणको त्रास फैलिइहेका बेला गाउँबासीलाई यसबाट सुरक्षित राख्नका लागि विदेशबाट घर आएकाहरुको घरमा चिन्ह लगाउने योजना बनाइएको उल्लेख गरे । स्वास्थ्य स्वयमसेविका, गाउँपालिकामा कार्यरत कर्मचारी र वडा समितिका सदस्यहरु घर घरमा रातो चिन्ह लगाउन खटेका छन् ।
गाउँपालिकाले १ सय २५ बेड क्षमताको क्वारेन्टटाइन निर्माण गरेको छ । वडा नम्वर २ को गगौलीमा ६५ जना, वडा नम्वर ७ को गणेशपुरमा ३६ जना र वडा नम्वर ६ को जुटपनियाँमा २४ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । ती क्वारेन्टाइनमा १ सय २ जना विदेशबाट आएका व्यक्तिहरु बसेका छन् । प्रत्येक क्वारेन्टाइन स्थलमा ६÷६ जना स्वास्थ्यकर्मी, २÷२ जना कार्यालय सहयोगी, २÷२ जना सुरक्षाकर्मी, खाना व्यवस्थापनका लागि एक जना स्टोर किपर र एक जना व्यवस्थापक खटाइएको प्रमुख प्रशासकीय अधिकृत भटट्टराइले जानकारी दिए । क्वारेन्टाइन संचालन प्रभावकारी भए नभएको बारे अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको संयोजकत्वमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, वडा अध्यक्षहरु सम्मिलित समिति गठन गरिएको छ ।