गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकाले एसइईपछि तीन वर्षे प्राविधिक क्षेत्रको विषय अध्ययन गर्नका लागि छात्रवृत्ति दिने भएको छ । बाली विज्ञान र भेटेनरी विषयमा तीन÷तीन जना, अमिन र ओभरसियर विषयमा दुई÷दुई जनालाई छात्रवृत्ति दिने निर्णय गाउँपालिकाले गरेको छ । छात्रवृत्ति लिन इच्छुक गाउँपालिकाभित्रका दलित, असाहय र विपन्न विद्यार्थीलाई सम्वन्धित वडामा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।
दलित, आर्थिक अवस्था कमजोर भई घरको उत्पादनले ६ महिना खान नपुग्ने, एक घरको कुनै पनि व्यक्ति देश वा विदेशमा रोजगारीमा नभएको, अन्य कुनै संघ संस्थाबाट छात्रवृत्ति नलिएको लगाएत मापदण्ड बनाइएको छ । छात्रवृत्ति लिन योग्य विद्यार्थीलाई सम्वन्धित वडाले सिफारिस गर्नुपर्ने पन्थीले जानकारी गराए ।
दलित तथा विपन्न विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति वितरण कार्यविधि—२०७९ हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सिता गिरीले पदभार ग्रहण गर्दा प्राविधिक विषय पढ्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका थिए । तीन वर्षसम्म पढ्नका लागि विद्यालयमा लाग्ने शुल्क गाउँपालिकाले व्यवस्था गर्ने अध्यक्ष पोखरेलले जानकारी गराए ।
छात्रवृत्ति लिन इच्छुक गाउँपालिकाभित्रका दलित, असाहय र विपन्न विद्यार्थीलाई सम्वन्धित वडामा आवेदन दिन सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।