प्यूठान : पहाडी जिल्लामा काम गर्ने बिषेशज्ञ डाक्टरलाई विशेष भत्ताको व्यवस्था गरिने लुम्बिनी प्रदेस सरकारका स्वास्थ्य मन्त्री राजु खनालले बताएका छन् । प्यूठानलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘बिषेशज्ञ डाक्टरलाई विशेष भत्ता, थप तलबको प्रबन्ध गर्छौं ।’ प्रदेशका १२ वटै जिल्लामा बिषेशज्ञ सहितको स्वास्थ्य सेवा पु¥याउन नीति तथा कार्यक्रममा समेट्दै बजेट सुनिश्चित गरिएको समेत उनले सुनाए ।
‘पहाडी जिल्लामा विशेषज्ञ डाक्टर जान आनाकानी गर्छन’,खनालले भने ‘उनीहरूको सेवा सुविधा बढाएरै भएपनी पहाडी अस्पतालहरुमा खटाउनुपर्छ ।’
जिल्ला अस्पतालहरूमा रहेका रिक्त दरबन्दी र आवश्यक स्वास्थ्यकर्मी पदपूर्ति गर्न करार ऐनलाई संशोधन गरिएको स्वास्थ्य मन्त्री खनालले जानकारी गराए । ‘छिटो छरितो प्रक्रियाबाट आवश्यक जनशक्ति नियुक्त गर्छौ ।’ उनले भने ।
मुलुक आर्थिक मन्दीको अवस्थामा रहेकाले सीमित स्रोत साधनलाई प्राथमिकीकरण गरि अधिकतम प्रयोगमा ल्याउन प्रदेस सरकार सजग रहेको उनको भनाई छ । अस्पतालमा बिग्रेर बसेका स्वास्थ्य उपकरणहरूलाई मर्मत गरि संचालनमा ल्याउन खनालले निर्देशन दिए ।