सरुमारानी (प्यूठान) : विरामी पर्दा नागरिकले सिटामोल खानपाउनु नैसर्गिक अधिकार हो । तर, त्यही अधिकारबाट बञ्चित छन् सरुमारानी गाउँपालिका ६ स्थित पाङबाङबासी । भौगोलिक रूपमा अरु वडाहरूको तुलनामा यो वडा विकट छ ।
गाउँमा स्थायी रूपमा स्वास्थ्य संस्थाको पहुँच छैन् । स्थानीय विरामी पर्दा तत्कालै सिटामोल पाइने अवस्था नभएको स्थानीय अगुवा गन बहादुर गुरुङले गुनासो गरे । ‘विरामी परिहाले कि दाङको मुर्कुटी कि बुडीचौर पुग्नु पर्दछ’,गुरुङले भने, ‘जहाँ जाँदा पनि २ घण्टा बढी पैदल हिड्नु पर्ने वाध्यता छ, बाटोघाटो छैन स्टेचरमा विरामी बोकेर लग्ने स्थिती छ ।’
स्वास्थ्य संस्था स्थापनाका लागि गाउँलेहरूले जग्गा समेत पास दिईसकेको गुरुङले सुनाए । भवन निर्माणका लागि गाउँपालिकाले तदारुकता नदेखाउँदा नागरिकहरुले पिडा खेप्नुपरेको उनको गुनासो छ ।
पाङबाङमा सामुदायिक स्वास्थ्य इकाई सम्म पनि स्थापना नहुनुले नागरिकको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर नभएको स्थानीय शुसिला बुढाले प्रतिक्रिया दिईन। ‘यति ठूलो बाक्लो गाउँ छ, यहाँको बस्तीलाई हेर्ने दृष्टिकोणमा नै फरक छ’,बुढाले भनिन्, ‘स्वास्थ्यमा सहज पहुँचका लागि पालिका नेतृत्व गम्भीर बन्नु पर्दछ ।’
खोप क्लिनिक तथा गाउँ घर क्लिनिक गरी महिनामा दुई पटक स्वास्थ्यकर्मी पाङबाङ पुग्ने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी गराए । पाङबाङमा हप्तामा दुईपटक घुम्ती स्वास्थ्य सेवा संचालनबारे छलफल भईरहेको वडा अध्यक्ष तिल बहादुर बुढाले जानकारी दिए । तत्कालका लागि बुडीचौरको आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरु मार्फत सेवा दिने योजना बनाएको बुढाले बताए । पाङबाङमा स्वास्थ्य संस्था स्थापनाका लागि गाउँपालिकासंग कुरा भइरहेको समेत उनको भनाई छ ।