गुल्मी : अस्पतालको लापरवाहीका कारण एक वालिकाको उपचारका क्रममा मृत्यु भएको भन्दै जिल्ला अस्पताल गुल्मीमा तनावग्रस्त भएको छ । मंगलवार विहान छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ६ वर्षिय प्रशंसा मरासिनीको मृत्यु भएको मृतक बालिकाकी छिमेकी लिलाधर पाण्डेले बताए ।
पाण्डेका अनुसार सोमबार विहान सामन्य पेट दुख्ने र वान्ता गरेपछि वालिकालाई अस्पताल लगिएको थियो । दिउँसो पुन ः वान्ता गरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । मंगलबार विहान ६ वजे स्वास्थ्यकर्मीले वालिकालाई सुई लगाएको दुई मिनेटमा बेहास् भएको बताईएको छ ।
त्यसपछि वालिकाका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेका थिए । झण्डै २ घण्टासम्म डाक्टर नआएको पाण्डेले बताए । बालिकाको निधनपछि आफन्तले आन्दोलन गरेका छन् । जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालय अगाडी आफन्तले आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा एक आन्दोलनकारी घाइते भएका छन् ।
अस्पतालका मेसु लगायतलाई आन्दोलनकारीले हातपात गरेको भन्दै चिकित्सकहरुले आकस्मिक बाहेकको सेवा ठप्प पारेका छन् । घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।