बुटवल : अस्पतालका स्वास्थ्यकर्मी र सेवाग्राहीहरु बीच सहज अन्तरक्रिया नहुँदा उत्पन्न हुने विवादलाई कमी ल्याउनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले नयाँ अभ्यासको थालनी गरेको छ । स्वास्थ्यकर्मी र सेवाग्राहीहरुबीच सम्वन्ध स्थापित गर्नका लागि अस्पतालले विहिवारदेखि ‘अन्तरवैयक्तिक संचार विभाग’ को गठन गरेको हो । अस्पतालमा विभिन्न सेवा सम्वन्धी १५ वटा विभाग छन् । ती मध्ये नयाँ विभागको रुपमा संचार विभाग गठन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुदर्शन थापाले जानकारी दिए ।
‘स्वास्थ्यकर्मीका कुरा सेवाग्राहीले नबुझ्ने र सेवाग्राहीका गुनासा स्वास्थ्यकर्मीहरुले नबुझ्ने खालको अवस्था देखिदा विभिन्न समस्याहरु उत्पन्न हुने गरेको देखिन्छ’,थापाले भने,‘पछिल्लो समय चिकित्सकहरुमाथी पनि आक्रमण हुने खालका गतिविधिहरु अस्पताल परिसरमै हुने गरेका छन्, ती समस्यालाई निराकरण गर्न नेपालकै पहिलो अभ्यासको रुपमा सेवाग्राही र स्वास्थ्यकर्मीहरुबीचको दुरीलाई नजिक बनाउँदै छौँ ।’
अस्पताल परिसरको ब्लक ‘डि’ को तेस्रो तलामा उक्त विभाग स्थापना गरिएको छ । अस्पतालमा कार्यरत नर्सिङ अधिकृत माधुरी ज्ञवालीको इन्चार्जमा १३ जना स्वास्थ्यकर्मीहरु उक्त विभागमा खटिने मेसु थापाले जानकारी दिए । अस्पतालमा कार्यरत आठ सय जना कर्मचारीहरुलाई तालिमबाट विरामी र उनका आफन्तहरुसँग गर्ने शिष्टचार व्यवहारका बारेमा प्रशिक्षित गराइने अस्पतालले जनाएको छ ।
‘स्वास्थ्य क्षेत्र आफैँमा संवेदनशिल क्षेत्र हो’,थापाले भने,‘अस्पताल आउने सेवाग्राहीले धेरै कुरा नबुझेरै बाहिर नकरात्मक सन्देश प्रवाह गर्ने हुँदा विभागको आवश्यकता देखियो ।’ सेवाग्राहीहरुको गुनासालाई विभागमार्फत एकिकृत गरी अस्पतालले सम्वोधन गर्ने छ । अस्पतालको तथ्यांक अनुसार दैनिक दुई हजार बढी विरामीले सेवा लिने गरेका छन् ।