बुटवल : अत्यधिक गर्मी र तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वार्षिक विदाबाट कट्टी हुनेगरी विहिवार र शुक्रवार विद्यालय वन्द गर्ने निर्णय भएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । गर्मी र तातो हावाले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने संभावनालाई मध्यनजर गरेर विदा दिने निर्णय भएको उनले बताए । बुटवलका सामुदायिक र संस्थागत सवैमा उक्त निर्णय लागु हुने छ ।
बुटवल उपमहानगरपालिकामा संस्थागत ५९ र सामुदायिक ३९ गरी कुल ९८ वटा विद्यालयहरु रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए । कुल ५५ हजार विद्यार्थी उपमहानगरपालिका क्षेत्रमा अध्ययनरत छन् । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को वार्षिक परीक्षा यथावत रहेको खनालले बताए । दुई दिनपछि मौसमको अवस्था हेरी थप विदाको निर्णय हुने छ ।