गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ स्थित जुनिया माध्यमिक विद्यालयमा संचालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जना नागरिकहरु प्रत्यक्ष लाभांवित भएका छन् । गुल्मी–जुनिया–चिदिपानी तराई सम्पर्क समाज रुपन्देहीको आयोजना र क्रिमसन अस्पताल मणीग्रामको प्राविधिक सहयोगमा शिविर शिविर संचालन गरिएको थियो ।
शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. शेखरप्रसाद पोखरेल, जनरल फिजिसियन डा. कृष्णचन्द्र गोदार, नशा तथा मनोरोग विशेषज्ञ डा.सन्दीप वर्मा, फेमिली फिजिसियन डा. ढक बहादुर खत्री, मेडिकल अधिकृत डा. यादव अर्याल र मेडिकल अधिकृत डा. बिपिन अर्याल लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । विरामीहरुको निःशुल्क सुगर परीक्षण, भिडियो एक्सरे सेवा, इसीजी सेवा र औषधी समेत वितरण गरिएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।
शिविरको उद्घाटनमा बोल्दै सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीण भेगका नागरिकलाई घरदैलोमै आएर प्रदान गरिएको स्वास्थ्य सेवाले नागरिकहरुको लाखौँ रुपैयाँ बचत भएको बताए ।