बुटवल : तिलोत्तमा नगरपालिका रुपन्देहीले कृषि क्षेत्रलाई विशेष जोड दिँदै आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट नगरप्रमुख रामकृष्ण खाणले उत्पादनमा आधारित कृषि अनुदानलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विदेशिने यूवाहरुलाई स्वदेशमै टिकाउने गरी नगरपालिकाले ‘बरु म गर्छु कृषि : तर कहीँ जान्न देश विर्सी’ नारा अघि सारेको छ । यस कार्यक्रम अन्तर्गत स्वदेशमै कृषि उद्यम गर्न चाहाने यूवाहरुलाई प्रोत्साहित गर्दै उनीहरुले संचालन गर्ने कृषि फार्मको व्यवसाय दर्तामा शतप्रतिशत छुट दिने नीति ल्याइएको छ । नगरपालिका क्षेत्रमा रहेको नदी उकास क्षेत्रको खाली जग्गामा सामूहिक कृषि गर्ने यूवा तथा कृषक समूहलाई प्राथमिकताका साथ जग्गा उपलव्ध गराउँदै आवश्यक सहजीकरण गर्ने नगरपालिकाले योजना ल्याएको छ ।
‘एक खेती बहु आय नीति’ अन्तर्गत धान खेतीमा हाँस पालन गर्न किसानहरुलाई उत्प्रेरित गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । ‘किसानलाई अनुदानमा विशेष जातका हाँसका चल्ला उपलव्ध गराउँछौ’,अर्यालले भने,‘समग्रमा आगामी आर्थिक वर्षको नगपालिकाको नीति तथा कार्यक्रम कृषि र उत्पादनमा आधारित अनुदान सहित शिक्षा र स्वास्थ्यमा जोड गरिएको छ ।’
नगरपालिकाले ‘मेड इन तिलोत्तमा’ समेत कार्यक्रम ल्याएको छ । यस अन्तर्गत नगरपालिका भित्रको कुनै एक विशिष्ट उत्पादनको लागि आवश्यक योजना ल्याउने र त्यसलाई कोशेलीको रुपमा प्रयोग गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै, विद्यालय तहदेखि नै विद्यार्थीहरुमा स्वरोजगार र उद्यमशिलताको भावना जागरुक गराउन पढ्दै, कमाउँदै कार्यक्रम नीति ल्याएको छ । निरोगी नगर कार्यक्रम, गर्भवतीसँग उपमेयर, शून्य होम डेलिभरी, स्वस्थ नागरिक समृद्ध तिलोत्तमा, नगरप्रमुख शैक्षिक सुधार लगायत नीति तथा कार्यक्रम ल्याएको छ ।