माण्डवी (प्यूठान) : गाउँपालिकाकै आफ्नै नागरिकको मृत्युमा समेत कत्तिपनि संवेदनशिल नभएको भन्दै पीडित परिवारले प्यूठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) र उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको कार्यकक्षमा शुक्रवार ताला लगाएका छन् ।
१८ महिना अघि गाउँपालिकाको ब्याक हो लोडरले किचेर ज्यान गुमाएका ठगबहादुर घर्तीको परिवारले न्याय नपाएपछि उनीहरु आक्रोशित बनेका हुन् । २०८० माघ २८ गतेको घटनापछि गाउँपालिकाले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने लिखित सहमति गरेको थियो । तर, अहिलेसम्म बिमा वापत पाउने ५ लाख बाहेक गाउँपालिकाबाट पाउने थप पाँच लाख पाएका छैनन् । गाउँपालिका अध्यक्ष रोशनले हुन्छ, हुन्छ भन्दै टार्ने गरेको पीडित धनबहादुर घर्तीले गुनासो गरे ।
‘पाँच लाख त २०८१ जेठ १२ गते दिइयो, त्यो पनि बीमा बापत । बाँकी ५ लाख दिन्छौं भनेको झुटको खेती रहेछ’,उनले भने, ‘अध्यक्षले हरेकपटक ‘हुन्छ’ मात्र भनिरहनुभयो, तर कार्यान्वयन भएन । त्यसैले हामी बाध्य भयौं तालाबन्दी गर्न ।’ तालाबन्दीका क्रममा प्लेकार्ड बोकेर मृतकका आफन्तले करिब चार घण्टा नाराबाजीसमेत गरेका थिए । ‘सम्झौता कार्यान्वयन गर’, पीडितलाई न्याय दे, राजीनामा दे जस्ता नारा गाउँपालिका प्राङ्गणमा घण्टौसम्म गुन्जियो । तर, जनप्रतिनिधी कानमा तेल हालेर बसेजस्तै गरे ।
कानुनको आडमा विमुख उपाध्यक्ष
क्षतिपूर्ति लिनेदिनेको लिखित सम्झौताका मुख्य पात्र हुन् गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कलाथोली । उनले गाउँपालिकाबाट थप पाँच लाख ‘कानुन बिपरित’ हुने भएकाले दिन नसकिने प्रतिक्रिया दिँदै आएका छन् । ‘हामी अदालत जान तयार छौं, सजाय पनि भोग्न तयार छौं, तर पैसा दिन्नौं’, कालाथोकीले अभिव्यक्ति दिएका छन् । कानूनी रुपमा दिन नमिल्ने लिखित सम्झौता उनले पीडित परिवारलाई किन गरे ? भन्ने विषयमा स्थानीय नागरिक समाजका अगुवाहरुले कालाथोकीमाथी प्रश्न गरेका छन् ।
तर, अध्यक्ष अधिकारीले असार मसान्तभित्रै बाँकी रकम उपलब्ध गराउने आश्वासन दिएका छन् । तर, उल्टै पीडित परिवारको आन्दोलनलाई “राजनीतिक रंग” दिन खोजेको भन्दै संचारकर्मी र स्थानिय रामचन्द्र पौडेलले ताला लगाएको आरोपसमेत अधिकारीले लगाएका छन् ।
ठगबहादुर घर्तीको २०८० माघ २८ गते वडा नं. १, देवीस्थान डाँडामा माण्डवी गाउँपालिका कार्यालयकै रा १ क ७७३ नम्बरको ब्याकहो लोडरले किचेर घटनास्थलमै मृत्यु भएको हो ।