बुटवल : यहीँ असार २८ गते आइतबार तिलोत्तमाको एउटा निर्वाचनको समाचारले तरङ्ग फैलायो । विषय थियो—तिलोत्तमा वडा नं. ८ को मिलन टोल विकास संस्थामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन । तिलोत्तमा वडा नं. ८ त्यो वडा हो—जहाँ हालका तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरेको निवास छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीको घर पनि यहीँ पर्छ । यसर्थ तिलोत्तमा वडा नं. ८ को राजनीति बेलाबेलामा धेरै नैं तरङ्गित हुन्छ । जसरी असार २८ गते तरङ्गित भयो ।
नगरपालिका मातहत रहने टोल विकास समितिमा नयाँ नेतृत्व चयनका लागि सहमति जुटेन । सहमतिका लागि धेरै प्रयास भए पनि अन्ततः टोल विकास संस्थामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन नैं हुने भयो । काँग्रेस र एमाले निकटको एउटा प्यानल बन्यो अर्को प्यानल रास्वपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, राप्रपा र जनमुक्तिको बन्यो ।
तर, काँग्रेस र एमालेइतरको प्यानललाई रास्वपाको एकल प्यानल भनेर प्रचार गरियो । जबकी, मिलन टोलमा नेकपा माओवादी केन्द्र, नेकपा एस, राप्रपा र जनमुक्तिका शुभेच्छुक तथा मतदाताहरुको समेत उपस्थिति छ । काँग्रेस र एमाले गठबन्धनको नेतृत्व कृष्ण चापागाईंले गरे भने अरु दलको संयुक्त गठबन्धनको नेतृत्व रमाकान्त भुसालले गरे । टोल विकास संस्थामा भुसाल लगायत अधिकांश रास्वपाका उम्मेदवारहरु नेकपा एमाले पृष्ठभूमिका हुन् । यसर्थ यो निर्वाचनलाई रास्वपाले बढी महत्व दिने नैं भयो । संसदीय निर्वाचन जस्तो प्रचार भयो, घरदैलो भयो । असार २७ गते मतदान भयो ।
राति मत परिणाम आयो, रास्वपा गठबन्धनको जीत भयो । तर प्रचार यस्तो भयो की यहाँ रास्वपा एक्लैको मात्र जीत थियो यो । जित्नेहरुले विजयउत्सव मनाए । फेसबुकमा लाइभ गरेँ । भलै सदस्यमा काँग्रेस र एमाले समर्थितले पनि चुनाव जितेका थिए । मिलन टोल विकास संस्थाको निर्वाचनको परिणाम टोल विकास संस्थामा समेत भागवण्डा गर्ने काँग्रेस र एमालेका लागि यो गतिलो झापड समेत थियो । रास्वपाको जीत यत्तिमैं सीमित भएन ।
निर्वाचन समितिले सोमबार सपथका लागि निर्वाचित भएकाहरुलाई बोलायो । जुन स्थानमा निर्वाचन गरिएको थियो सोही ठाउँमा सपथ गराउने तयारीका काम भए । निर्वाचन समितिका सदस्यहरुका अनुसार प्रमाणपत्र बने, वडाका जनप्रतिनिधिहरु समेत आए । तर, रास्वपाको अहंमता यहीँ छच्लिकियो । सपथ ग्रहणका लागि निर्वाचित टोल विकासका अध्यक्ष रामाकान्त भुसाल समेतको सल्लाहमा स्थान तोकिएको निर्वाचन समितिले जनाएको छ ।
तर पछि टोल विकास संस्थाको सचिवमा निर्वाचित सीता न्यौपाने तिवारीले तोकिएको हलमा शपथ ग्रहण नगर्ने अडान लिए । करहिया मक्रहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हल वा होटल वा पाटी प्यालेसमा भव्यताका साथ सपथ ग्रहण गराउनुपर्ने माग उहाँले राखेको कार्यक्रममा सहभागीहरु बताउँछन् । अध्यक्षले समेत त्यसैमा समर्थन जनाउँदा सपथ ग्रहण स्थगित भयो ।
नयाँ उमंगका साथ आएका, राम्रो संस्कार भएका भनिएका, राम्रो काम गर्ने आश्वास बाँडेकाहरुले यस्तो गरेपछि मिलन टोलका बासिन्दाहरु अचम्ममा परेका छन् । सपथ ग्रहणका निम्त्याइएर गएकाहरुका अनुसार रास्वपा नेता कृष्ण तिवारीले होटल तथा पार्टी प्यालेसमा शपथ ग्रहण गराउनुपर्ने अन्यथा शपथ ग्रहण बहिष्कार गर्ने बताएपछि सोमबारको कार्यक्रम स्थगित भयो । लामो समयसम्म निर्वाचन हुन नसकेको टोलमा निर्वाचन समितिले बडो मिहिनेतपूर्वक निर्वाचन सम्पन्न गर्न सफल भएको र निर्वाचनमा भएको सामान्य खर्च समेत जुटाउन गार्हो भएको अवस्थामा तयारी गरेको शपथ ग्रहण बहिष्कार गरी हिँडेपछि यो विषयले मिलन टोलका बासिन्दाको मन कुँडिएको स्थानीयले बताए ।