भानुजयन्ती विशेष :
हाम्रो सुन्दर, शान्त अनि पूरा नेपाल
के भानुले साँच्चै देखेनन् होला र ?
एकता, सहयोग र राष्ट्र विकासको
अनुभव पक्कै नगरेकै होलान् र?
जनताको पिडा कम गर्न लाग्नुपर्नेहरु
कुर्सीकै लागी भनेर तँछाडमछाड गर्दै
षड्यन्त्र बुनिरहेको नदेखेकै होलान् र?
आजको कोरोना कहर, सलह आतंक
हाम्रा विभुती भानुभक्तले देखेका भए
बाढी र पहिरोले तहसनहस बनाएको
सिन्धुपाल्चोक छेउछाउ घुम्दै पुगेका भए?
नेपालको भूमी अतिक्रमण हुँदै गरेको
आफ्नै आँखाले छर्लङ्ग देखेका भए?
सायद भानु लेख्न सुरु गर्थे अर्को रामायण
जहाँ शान्त भएर बगेको खोला हुँदैनथ्यो
शान्त भिर र पाखो पनि पक्कै हुँदैनथ्यो
घरबारबिहिनहरुको आँसु र पीडा हुन्थ्यो
बगाएका लासहरुको यत्रतत्र खोजी हुन्थ्यो
भ्रष्टाचार अनि साथमा ठगी पनि हुन्थ्यो।
गरिबीले आत्महत्या गर्नेहरुको संख्या
बढ्दै गएको देखेर,भानु विरक्त मान्थे
बढ्दो महङ्गी, लुटतन्त्र अनि घुसतन्त्र
मौलाएको देखेर भानु दिक्क मान्थे
सुर्य बिस्तारै अस्ताएको हुन्थ्यो होला
भानुभक्त असमन्जसमा टोपी मिलाउँथे
बन्दाबन्दीमा घर भित्रै थन्किएका भानु
छ्तमा आफ्ना टोपी फुकाल्दै हुन्थे होला
अचम्मको राजनैतिक कलहको सिनेमा हेरेर
जुँगा मुसार्दै,छ्ट्पटाउँदै यताउता गर्दागर्दै
कागजमा बिस्तारै कलम चलाउँथे होला।