प्यूठान : बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजका विरुच प्यूठाका व्यवसायीहरु आन्दोलित हुने भएका छन् । प्यूठान उद्योग वाणिज्य संघको आव्हानमा शुक्रवार संघ मातहत रहेका नौ वटै बजार क्षेत्रबाट विरोध स्वरुप बृहत हस्ताक्षर कार्यक्रमको शुरुवात भएको संघका कार्यसमिति सदस्य तथा प्यूठान नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्यार अलि खानले जानकारी दिए ।
राष्ट्र बैंकले जारी गरेको निर्देशिका तथा बैंकहरुले उद्यमी व्यवसायीहरुप्रती गरेको अव्यवहारिक नीतिका विरुद्ध आन्दोलन गरिएको प्यूठान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी गराए । ‘प्रदेस उद्योग वाणिज्य महासंघको सर्कुलर बमोजिम आन्दोलनका विभिन्न चरण तथा कार्यक्रमहरु तय गरिएको छ ।’ पोख्रेलले भने, ‘बैंकको चर्को ब्याजले उद्योगी व्यवसायीहरु धरासायी बन्दै गए, अब निर्णायक आन्दोलन हुनेछ ।’
कार्यक्रम अनुसार पुस २१ गतेसम्म सेतो कपडामा बैंकको चर्को ब्याजको विरुद्धमा एक्यवद्धताको लागि हस्ताक्षर गर्ने र नेपाल सरकार तथा राष्ट्र बैंकलाई सो हस्ताक्षर बुझाउने, १७ गते उद्योग वाणिज्य संघले कालोपट्टी बाँधेर विरोध गर्ने, १८ गते बैंकर तथा जनप्रतिनिधिहरुका बीचमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने, १९ गते जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा २ घण्टे धर्ना तथा बिरोध प्रदर्शन गर्ने, पुस २० गते देखि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागि हुने निर्णय भएको संघका महासचिव सन्देश आचार्यले बताए ।