सरुमारानी (प्यूठान) : सरुमारानी गाउँपालिकाको चालु आर्थिक वर्षको पुस मसान्तसम्म वित्तिय प्रगती २३ दशमलव ५३ प्रतिशत पुगेको छ । मंगलवार दशौँ गाउँसभामा उक्त वित्तिय प्रगती भएको जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले बताए । पुस मसान्तसम्म भएको खर्चको सवै विवरण गाउँसभामा पेश भएको रेग्मीले जानकारी गराए । गाउँसभाले पाँच वटा विधेयक समेत पारित गरेको छ ।
स्वास्थ्य सेवा विधेयक, एफ.एम रेडियो व्यवस्थापन तथा संचालन गर्न बनेको विधेयक, स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।
लेखा समिति संयोजकद्वारा प्रस्तुत गरिएको लेखा परीक्षण तथा वेरुजु सम्परीक्षण प्रतिवेदन गाउँसभामा पारित भएको छ । विभिन्न वडा कार्यालय स्वास्थचौकी लगाएतको लागि गाउँ पालिकालाई निःशुल्क जग्गा दान गर्ने ११ जना जग्गादातालाई गाउँसभाकै अवसरमा सम्मान गरिएको छ । माघ ८ गते थप कार्यसूचिमा छलफल गर्ने गरि गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ ।
