झिमरुक (प्यूठान) : स्थानीय सरकार गठनसँगै सवैले भन्दै आए,‘अब सिँहदरवार गाउँ गाउँमा पुग्यो’ । जनतामा बेग्लै उत्साह छ । तीन तहका सरकारमध्ये सवैभन्दा प्रभावकारी र जनतासँग नजिकको सरकार बनेको छ, स्थानीय सरकार । जनजीविकाको सवालमा सवैभन्दा छिटो यही सरकारले सेवा पु¥याइरहेको छ । स्थापनाको शुरुवाती वर्षमा स्थानीय सरकारले सवैभन्दा कष्ट व्यहोर्नुप¥यो । बस्ने थलो नहुँदा चाहेरपनि सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन कठिन भयो ।
जनप्रतिनिधी चुनिएसँगै स्थानीय सरकार संचालन भएको पाँच वर्ष सकिनै लागेको छ । पहिलो कार्यकाल सकिनै लाग्दाको क्षणमा धेरैजसो स्थानीय सरकारले आफूहरु बस्ने भवन बनाउन सफल भएका छन् । त्यसमध्ये एक हो, प्यूठानको झिमरुक गाउँपालिका । जिल्लाका नौ स्थानीय तहमध्ये दोस्रो नम्वरमा भवन बनाएर सेवा प्रवाह गर्ने गाउँपालिकाको रुपमा यो बनेको छ ।
झिमरुक गाउँपालिका वडा नम्वर ४ स्थित भ्यागुतेमा दुई तले शानदार भवन बनाएर गाउँपालिकाले सेवा प्रवाह गर्न थालेको छ । कोरोना त्रास भइरहेपनि स्वास्थ्यका मापदण्ड अपनाएर भवनको विहिवार भव्य उद्घाटन गरियो । जिल्लाका सरोकारवाला निकायहरु उद्घाटनमा जुटे । मच्छि–बांगेफेदी–सौतामारे सडक अन्तर्गत चँुधाराफेदीमूनी समतल फाँटमा झिमरुक गाउँपालिकाको सुविधायूक्त भवन बनाइएको छ । यहाँ पुग्दा साँच्चिकै सिँहदरवार गाउँमै आएजस्तो झल्को यसले दिने गरेको छ । भवनको चारैतिर बत्ती जडान गरेकाले रातको समयमा यस क्षेत्र झिलिमिली हुन्छ ।
भवन चार तलाको बनाउने डिपिआर तयार गरिएको छ । तर, हाललाई दुई तलामात्र निर्माण पुरा छ । तार तला पुराभएपछि लिफ्टको समेत व्यवस्था हुने छ । लिफ्ट संचालनका लागि संरचना अहिले नै तयारी अवस्थामा राखिएको छ । भवनमा २२ वटा कोठा, बैठक कक्ष, अपांगमैत्री शौचालय, आपतकालिन ढोका, भण्डार कक्ष लगाएत निर्माण छन् । केही वर्ष भाडाका भवन र गाउँपालिका केन्द्र तोकिएपछि सभाहललाई विभाजन गरेर कार्यालय संचालन गरिएको थियो ।
भवनको उद्घाटन प्यूठानकी प्रतिनिधीसभा सदस्य दुर्गा पौडेलले गरिन् । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी उनले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने उद्घाटन कार्यक्रममा सुनाइन । उनले निर्वाचन नहुँदासम्म हालकै जनप्रतिनिधीहरुले काम चलाउने समेत बताइन् । प्रमुख प्रशासनिक भवन सहित धेरैजसो वडा कार्यालयका भवनहरुको निर्माण समेत अन्तिम चरणमा भइरहेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले जानकारी गराए । उनले आफ्नै कार्यकालमा गाउँपालिकालाई व्यवस्थित रुपमा कामकाज संचालन गर्नेगरी कार्यालय निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर पुरा गरिएको बताए । आठ वटा वडामध्ये हालसम्म वडा नम्वर १, ३, ४, ५ र ६ नम्वर वडाको नयाँ भवन बनिसकेका छन् । अन्य भवन निर्माणको प्रक्रियामा छन् । भवनसँगै गाउँपालिकाको सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन कार्यक्रममा सहभागी अतिथीहरुले सुझाव दिए ।
नयाँ भवनबाट सेवा दिन थालिएपछि कार्यसम्पादनमा धेरै सहज हुन थालेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले जानकारी गराए । उनले सेवा प्रवाहमा व्यवस्थित कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । मुल्य अभिवृद्धि कर (भ्याट) सहित ७ करोड ६६ लाख २३ हजार ६ सय ४६ रुपैयाँ लागतमा रविना÷आँशु÷मल्लरानी जेभीले भवन निर्माण पुरा गरेको गाउँपालिका लेखा अधिकृत पिताम्बर मरासिनीले जानकारी गराए । सम्झौता अवधिमै निर्माण व्यवसायीले काम सम्पन्न गरेका हुन् ।
भवन उद्घाटनमा बोल्दै झिमरुकसँग जोडिएको मदाने गाउँपालिका गुल्मीका उपाध्यक्ष सरीता खड्काले पहिलो कार्यकाल सिकाइमै वितेको सन्दर्भमा झिमरुकबाट धेरै सिकाइका विषयहरु रहेको उल्लेख गरिन् । अन्तर जिल्ला स्थानीय तहहरुमा भइरहेका सकरात्मक पक्षलाई सवैले अनुसरण गर्नुपर्ने उनको भनाई थियो ।
पूर्व प्रमुख प्रशासकीय अधिकृत सहितलाई सम्मान
भवन उद्घाटनको अवसरमा गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाललाई सम्मान गरेको छ । केही महिना अघि मदाने गाउँपालिका पुर्कोटदह गुल्मीमा सरुवा भएर गएका भुसाल लामो समय झिमरुकमा रहेर काम गरेका थिए । गाउँपालिका शुरुवाती वर्षमा गुल्मीकै निमप्रसाद भण्डारी निमित्त कार्यकारी अधिकृत, ताराकिरण कुवँर र त्यसपछि भुसाल कार्यरत रहे । हाल प्यूठान लुङ बाहाने निवासी शुवास रिजाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । गाउँपालिकाले भुसाललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।
त्यस्तै, भवन निर्माणको जिम्मा पाएको रविना÷आँशु÷मल्लरानी जेभीलाई सम्मान गरिएको छ । गाउँपालिकामा कार्यरत सब इन्जिनियर नगेन्द्र आचार्य र आदेश जिसीलाई समेत सम्मान गरिएको छ । गाउँपालिका भवन निर्माणका लागि निःशुल्क जग्गा दिने २४ जना जग्गाधनीहरुलाई पनि गाउँपालिकाले सम्मान गरेको छ ।
तस्विर : बासु
कसले बनाए ? कसले बनाएनन्, के छ अवस्था ?
क्र.सं |
पालिकाको नाम |
अवस्था |
विनियोजित बजेट |
१ |
झिमरुक गाउँपालिका |
सम्पन्न |
७ करोड ६६ लाख २३ हजार ६ सय ४६ |
२ |
सरुमारानी गाउँपालिका |
सम्पन्न |
१ करोड ५६ लाख |
३ |
माण्डवी गाउँपालिका |
निर्माणधिन |
५ करोड २७ लाख |
४ |
स्वर्गद्धारी नगरपालिका |
निर्माणधिन |
६ करोड |
५ |
ऐरावती गाउँपालिका |
निर्माणधिन |
१ करोड ९० लाख २६ हजार ५ सय ४० |
६ |
नौबिहिनी गाउँपालिका |
निर्माणधिन |
६ करोड १३ लाख |
७ |
प्यूठान नगरपालिका |
जनप्रतिनिधी नआउँदै बनेको |
४ करोड ५८ लाख |
८ |
मल्लरानी गाउँपालिका |
प्रक्रियामा |
|
९ |
गौमुखी गाउँपालिका |
प्रक्रियामा |
१ करोड |