- कार्यकाल सकिने डिलैमा जनप्रतिनिधी
प्यूठान : ‘कर्मचारी–जनप्रतिनिधी’ बीच तालमेल नमिल्दा धेरैजसो स्थानीय सरकारमा विकास निर्माणको कामले गति नलिएको पाइन्छ । काम गर्दागर्दै कर्मचारी बीचमै सरुवा भएपछि जनप्रतिनिधीहरुले चाहे अनुसारको काम गर्न पाएका छैनन् । कर्मचारी नीतिगत रुपमा काम गर्न चाहन्छन्, भने जनप्रतिनिधी व्यवहारिक रुपमा । यी दुईको तालमेललाई मिलाएर लैजानसक्नेहरुले मात्र स्थानीय सरकारमा अपेक्षित प्रतिफल हासिल गरिरहेका छन् ।
त्यसै मध्येको एक स्थानीय तह हो, प्यूठानको माण्डवी गाउँपालिका । प्यूठानमा दुई नगरपालिका सहित नौ स्थानीय तह छन् । कर्मचारी र जनप्रतिनिधीहरुबीच विवाद नहुने स्थानीय तहमध्ये माण्डवी अग्रपंक्तिमा पर्छ । त्यसको सकरात्मक असर विकास निर्माणमा परेको छ । गाउँपालिका स्थापनाको शुरुवाती वर्षमा कार्यकारी अधिकृत नारायण पौडेल र त्यसपछि शिसिर रिजाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । संभवतः यी दुई जना कार्यालय प्रमुखको सेवाले नै जनप्रतिनिधीहरुको पहिलो कार्यकाल पुरा हुँदैछ ।
छिनछिनमै कर्मचारी फेरबदल नभएपछि सोँचे अनुसारको कार्यसम्पादन गर्न सहज हुने गाउँपालिका अध्यक्ष श्रीधर रोकाले अनुभव सुनाए । ‘जनप्रतिनिधीको काम नीति, नियम र योजना ल्याउने हो’,उनी भन्छन्,‘कर्मचारीहरुको कार्यसम्पादनमा हामीले हस्तक्षेप गर्ने होइन्, त्यसो गरियो भने विवाद आउने कुरै हुँदैन् ।’ क्षेत्राधिकार मिच्न खोजेमा मात्र विवाद उत्पन्न हुने उनको बुझाई छ । गाउँपालिका स्थापनाको शुरुवाती वर्षदेखि हालसम्म सवै योजनाहरु विवादरहित ढंगले कार्यसम्पादन गरिएको उनले सुनाए ।
गाउँपालिकाको केन्द्र जस्पुरमा टुंगाएलगत्तै थालिएको प्रशासनिक भवनको निर्माण कार्य पुरा भएको छ । केही समयभित्र भवन उद्घाटन गर्ने योजना रहेको रोकाले बताए । गाउँपालिकाले १ हजार ५ सय घरधुरीमा खानेपानी, १ हजार १ सय घरहरु खरका छानामूक्त, उज्यालो माण्डवी कार्यक्रम अन्तर्गत सात सय घरधुरीलाई निःशुल्क मिटरबक्स वितरण र २० यूनिटसम्मको विद्युत्त महशुल निःशुल्क बनाइएको छ ।
गर्भवती र सुत्केरी महिलालाई घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स, शहिद परिवारलाई मासिक भत्ता, उदयपुरकोट दरबार निर्माण, दाङ प्यूठानको सिमानामा रहेको बंगलाचुली पर्यटकीय क्षेत्रलाई बंगलाचुली र माण्डवी दुवै गाउँपालिकाको बरावरी स्वामित्व हुनेगरी भौतिक पूर्वाधार निर्माणका काम भइरहेको अध्यक्ष रोकाले बताए ।
गाउँपालिकाले १५ शैँयाको अस्पताल, तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई र वडा नम्वर ५ स्थित रम्दीमा बागेश्वरी माध्यमिक विद्यालय स्थापना गरेको छ । समुदायबाट रकम संकलन गरेर थामिएका शिक्षकहरुलाई गाउँपालिकाले दरवन्दी सृजना गरी शिक्षकहरुको दिगो व्यवस्थापन गरेको छ । गाउँका सवै गाउँबस्तीमा सडक पुगेका छन् । ती सडकलाई निरन्तर संचालन हुनेगरी दिगो योजना गाउँपालिकाले बनाउँदै छ । गाउँपालिकाले लिएको लक्ष्य पुरा गर्नका लागि स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुको ठूलो साथ मिलेको अध्यक्ष रोकाले सुनाए । कर्मचारी सरुवालाई भन्दा उनीहरुको स्थायीत्व र दिगो विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।
योजना निर्माण, कार्यान्वयनदेखि नागरिकले त्यसको नतिजा अनुभूती नगर्दासम्म कर्मचारी सरुवा हुने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल बताउँछन् । ‘जनप्रतिनिधीले जस्तै कर्मचारीहरुले पनि निश्चित लक्ष्य, उद्देश्य र सोँचका साथ काम गरिरहेका हुन्छन्’,उनले भने,‘त्यसलाई पुरा गर्नका लागि पुरा कार्यकाल काम गर्न पाउनुपर्छ ।’ बहुवर्षिय योजना पुरा गर्नका लागि शुरुदेखि अन्त्यसम्म सोही कर्मचारीको काँधमा भएमा प्रतिफल छिटो आउने उनको अनुभव छ ।
‘आफ्नो कार्यकालमा शुरु भएको योजना पुरा गरेर जाँदा मनमा बेग्लै खुसी र सन्तुष्टि मिल्छ’,रिजाल भन्छन्,‘कर्मचारीको कार्यसम्पादनमा पनि यसले धेरै राम्रो गर्छ ।’ उनले चालु खर्चको तुलनामा पूँजिगत खर्च हरेक वर्ष धेरै हुने गरेको जानकारी गराए । वार्षिक करिव ८० प्रतिशत भन्दा माथी पूँजिगत खर्च गाउँपालिकामा हुने उनले बताए । प्रशासनिक, खाजा, भत्ता जस्ता चालु खर्चलाई कम गर्दै लगेको उनले सुनाए । विकास निर्माण, सेवा प्रवाह र शुसासनमा जनप्रतिनिधी र कर्मचारीबीच प्रभावकारी समन्वय हुँदा सफलता लिनसकिने रिजालको अनुभव छ ।
जिल्लाका प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिका सवैभन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतहरु फेरिने स्थानीय तहमा पर्छन् । कर्मचारीहरुको क्षेत्राधिकार मिच्न खोज्दा यी पालिका सधैँ विवादमा मुछिन्छन् । विवादरहित तरिकाले जनतालाई सेवा प्रवाह गरेकै कारण माण्डवी गाउँपालिकाले आफ्ना नागरिकहरुको मन जित्न सफल भएको सेवाग्राहीको प्रतिक्रिया छ । – (बुटवल टुडेबाट)
यी हुन् मनछुने कार्यक्रम
– १ हजार ५ सय घरधुरीमा खानेपानी ।
– १ हजार १ सय घर खरका छानामूक्त ।
– ७ सय घरधुरीलाई निःशुल्क मिटरबस्क ।
– २० यूनिटसम्म विद्युत्त महशुस निःशुल्क ।
– गर्भवती र सुत्केकरी महिलालाई निःशुल्क एम्बुलेन्स ।
– शहिद परिवारलाई मासिक भत्ता ।
– ब्राह्णराज्य उदयपुरकोट दरबार निर्माण ।
– दाङको बंगाचुलीलाई बरावरी स्वामित्व हुनेगरी पूर्वाधार निर्माण ।
– कृषि करीडोर निर्माण ।
– १५ शैँयाको अस्पताल निर्माण ।
– तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई निर्माण ।
– रम्दीमा बागेश्वरी मावी स्थापना ।
– दुर्गम गाउँहरुका विद्यालयको कक्षा स्तरोन्नती ।
– नीजि शिक्षक हटाएर गाउँपालिकाबाट दरवन्दीका शिक्षक भर्ना ।
– सवै गाउँबस्तीमा सडक ।