प्यूठान : मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विभिन्न १० कारण देखाउँदै कालोमोसो दलिएको विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बक्तत्व मार्फत जानकारी गराएको छ । कालोमोसो दल्नुलाई उक्त पार्टीले जनकारबाही भनेको छ । जनकारवाही किन ? भन्दै नेकपाले कारणहरु वक्तत्व मार्र्फत सार्वजनिक गरेको हो ।
मल्लरानी ५ सरङकोटस्थित भुमी विकास आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा सुस्मिता मल्ल मृत अवस्थामा भेटिएकाले जनताले शंका गरेको व्यक्तिलाई संरक्षण गरेको नेकपाले आरोप लगाएको छ ।
त्यस्तै, सोही विद्यालयको शिक्षक शिक्षिकालाई सामाजिक बहिष्कार गरेको अवस्थामा उनीहरुलाई संरक्षण गरेको, विद्यालयलाई प्रदेश सरकारबाट गत आर्थिक वर्ष ३६ लाख बजेट विनियोजन भएकोमा कार्यालय प्रमुखले योजनाबद्ध फ्रिज गराई हाल गाउँपालिकाद्धारा ३० लाख बजेट विनियोजन गरी स्टिमेट अनुसार काम नगरेको नेकपाको गाउँपालिकामाथी आरोप छ ।
सरकारले विनियोजन गरेको योजना व्यक्तिको नाममा तमसुक बनाएर मात्र विनियोजन गरेको, तमसुक नगरेमा बजेट फ्रिज गराउने धम्की दिएको, झाक्रिस्थान पर्यटकीय स्थलमा जानेबाटो र वडा नम्व्र ५ मा जाने बाटो धेरै पटक जनताले गुनासो गर्दा समेत मर्मत नगर्दा यातायात अवरुद्ध भएको गाउँपालिकामाथी आरोप छ ।
विपन्न जनतालाई बाढ्ने नाममा सोलार किनेर विजुली जडान भएको घरहरुलाई वितरण गरेको, कोभिड १९ को खर्च सार्वजनिक नगरी जनताले खर्च विवरण माग्दा समेत नदिएको, झाक्रिस्थान खोलामा हाल्ने भनी दुई दुई पटक लिएको होम पाइप अन्यत्र लगी प्रयोग गरेकोले वर्षातको समयमा बाटो अवरुद्ध हुने समस्या भएको, गत आर्थिक वर्ष खरको छानामुक्त भनेर लिएको जस्तापाता कमिशनको खेलमा पक्की घर तथा नयाँ घर बनाउन दिएको र कुनै पनि जनताले गरेको फोन नउठाउने, जनतासँग जे मुखमा आउँछ त्यही बोल्ने जनगुनासो आइरहेकाले कालोमोसो दल्नुपरेको नेकपाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
मोसो दल्ने यूवाहरु अझै फरार
कार्यक्रम स्थलमै कालोमोसो दलेर भाग्ने विप्लव नेतृत्वको नेकपाका यूवाहरु अझै फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको टोलीले कालोमोसो दलेको बताएका छन् ।आफूहरुलाई अभद्र व्यवहार गर्ने यूवाहरुलाई कारवाही गर्न पीडित गाउँपालिका अध्यक्ष राना र प्रमुख प्रशासकीय अधिकृत थापाले माग गरेका छन् ।