प्यूठान : प्यूठानमा गाउँपालिका अध्यक्षमा दोहोरिने प्रयास केहीको सफल भएको छ भने केही असफल भएका छन् । जिल्लाका तीन गाउँपालिका अध्यक्ष पूनः पाँच वर्षे कार्यकालका लागि दोहोरिएका छन् । दुई गाउँपालिका अध्यक्षको प्रयास असफल भएको हो ।
सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी र ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाह दोहोरिएका छन् । माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका र नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजालको प्रयास निरर्थक बन्यो ।
जिल्लामा राम्रो काम गर्ने पालिकाको रुपमा चिनिएपनि दुई जना अध्यक्षले नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । माण्डवीमा एमाले बाहेक सवै दल एक भएका थिए । विप्लव नेतृत्वको नेकपा समेत गठवन्धनमा सहभागी भएको थियो । सवै दल एक भएकाले नतिजा हाता पार्न नसकिएको माण्डवी गाउँपालिका अध्यक्षमा पराजय भएका रोकाको विश्लेषण छ । यहाँ सत्ता गठवन्धनबाट नेकपा माओवादी केन्द्रका नवराज अधिकारी (रोशन) गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उनी यसअघि रोकासँगैको प्रतिस्पर्धामा पराजय भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका पूर्ण कालाथोकी विजयी भएका छन् ।
नौवहिनीमा कांग्रेस र माओवादीको गठवन्धन थियो । कांग्रेसका रिजाल अध्यक्ष र उपाध्यक्षमा माओवादीका घन बहादुर बुढा पराजय भएका हुन् । उनीहरु निवर्तमान अध्यक्ष, उपाध्यक्ष हुन् । यहाँ एमाले एक्लै चुनावी प्रतिस्पर्धामा थियो ।